नगर गौशालामा वार्षिकोत्सबको अबसरमा भजन प्रतियोगीता सम्पन्न

बोली खबर   १३ फाल्गुन २०८१, मंगलवार ०४:५९

रामपुर नगरपालिका–६,नगर गौशालाको छैठौं वार्षिक उत्सव सम्पन्न भएको छ । वार्षिक उत्सवको अबसरमा तातोपानी धाममा लोक भजन प्रतियोगिता सम्पन्न भएको हो । लोक भजनको मौलिकपन जोगाउने उद्देश्यले सोमबार प्रतियोगिता भएको थियो ।

 लुम्बिनी प्रदेश सभाका उपसभामुख मेनुका खाँड के.सी.ले धर्म, संस्कृति र परम्पराको संरक्षण गर्नु सबैको दायित्व रहेको बताउनु भएको छ । भजन प्रतियोगिताको उद्घाटन गर्दै केसिले पछिल्लो समय आयातित संस्कृतिलाई प्राथमिकता दिदै जाँदा मौलिक धर्म र संस्कृति हराउँदै गएको उहाँले बताउनुभयो ।

हाम्रो मौलिक धर्म, भाषा र संस्कृतिमा असर पुग्ने कुनै सम्झौता गर्न नहुने बताउनुभयो । “आयातित धर्म र संस्कृतिलाई प्राथमिकता दिदै जाँदा हाम्रो मौलिक धर्म र संस्कृति मेटिदै गएको छ । धर्म, संस्कृति र परम्परालाई संरक्षण गर्नु हामी सबैको दायित्व हो ।” उहाँले भन्नुभयो । उहाँले फरक फरक जिम्मेवारीमा रहेका नेपालीलाई एउटै स्थानमा ल्याउने र व्यक्तिलाई अनुशासित गराउने, राज्यलाई अनुशासित गराउने, नेतालाई अनुशासित गराउने माध्यम आध्यात्मिक चिन्तन भएको बताउनुभयो ।


प्रतियोगितामा राधाकृष्ण भजन समूह चापाकोट ६ केलादी स्याङ्जा प्रथम, एकादशी भजन कीर्तन समूह रामपुर ८ सेरा द्वितीय, राधाकृष्ण दामोदर भजन समूह रामपुर ६ विजयपुर तृतीय र गौशाला चोक एकादशी भजन कृतन समूह रामपुर ६ गौशाला सान्त्वना भएको निर्णायक मण्डलका संयोजक नारायण गौतमले जानकारी दिनुभयो ।

उच्च अदालतका पूर्व न्यायाधिश अनन्त डुम्रेले गाई संरक्षणका लागि गौशालाले गरेको पुण्यको काममा सबैले साथ दिनु पर्ने बताउनुभयो । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सदस्य विष्णुमाया ढकालले गौशालाले राष्ट्रको गरिमा उच्च बनाएको बताउनुभयो । नगर गौशालाका सल्लाहाकार सागर प्रसाद देवकोटाले गाईहरुको संरक्षण गर्दै धार्मिक पर्यटनको प्रवद्र्धन गर्नु नगर गौशालाको मुख्य उद्देश्य रहेको बताउनुभयो । नगर गौशाला प्रदेश कै उदाहरणीय गौशाला रहेको बताउनुभयो । कार्यक्रममा रामपुर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले नयाँ पुस्तालाई लोकभजनको बारेमा जानकारी दिन प्रतियोगिताको महत्वपूर्ण भुमिका रहने बताउनुभयो । उहाँले नगरपालिकाले वैदिक सनातन संस्कृतिको प्रवद्र्धन संगै गौशाला सम्म जाने सडक पूर्वाधार निर्माणको काम तिव्रगतिमा भैरहेको बताउनुभयो ।

कार्यक्रममा रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले गौशालाले गाईको संरक्षण संगै याहाँको धार्मिक पर्यटनमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस रामपुरका उपसभापति ज्ञान प्रसाद भण्डारी, नेकपा एमाले रामपुर नगरकमिटी उपाध्यक्ष विशाल श्रेष्ठ अशोक, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष फणेश्वर गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टी रामपुरका नगर अध्यक्ष राजेन्द्र ढकाल र राष्ट्रिय जनमोर्चा रामपुरका अध्यक्ष राम प्रसाद गैरे नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष बन्दना पोखरेल लगायतले कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो थियो ।

नगर गौशालाका सल्लाहाकार देवराज ढकालले नगर गौशालाको विषयमा जानकारी गराउनु हुदै ज्ञापनपत्र बुझाउनु भएको थियो कालीगण्डकी डाईभर्सनको खारेजको माग सहितको ज्ञापनपत्र उपसभामुखलाई हस्तान्तरण गर्नु भएको थियो ।

नगर गौशाला समितिका अध्यक्ष हुमनाथ न्यौपानेले गौशालाले हाल सम्म प्राप्त गरेको उपलब्धी, भावि रणनीति र प्रस्तावित कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले गौशालाको आम्दानीको स्रोत दान रकम, मल बिक्री रहेको बताउनुभयो । कोषाध्यक्ष चण्डी प्रसाद खनालले १ करोड ५९ लाख १४ हजार ६ सय ७४ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन सार्वजनिक गर्नु भएको थियो ।

रामपुर नगर गौशाला समितिको आयोजनामा भएको प्रतियोगिताका पाल्पा र स्याङ्जाका जेष्ठ नागरिक, महिला तथा बालबालिका सहितको आठ समूहले सहभागीता जनाएका थिए । प्रतियोगितामा विजयी समूह मध्ये प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमश नगद १२ हजार, सात हजार, पाँच हजार र तीन हजार पाँच सय सहित प्रमाण पत्र प्रदान गरिएको थियो । साथै प्रतियोगितामा सहभागी जनाएको साना साना बालबालिकाहरुको समुह नन्दबाला भजन कृतन समूहलाई प्रोत्सहानका लागि आयोजकले सम्मान गरेको थियो ।

प्रतियोगिताको प्रथम पुरस्कार किसान एग्रोभेट किसानबारीका प्रोप्राईटर सूर्य प्रसाद भट्टराई, द्धितीय पुरस्कार रोटरी क्लव अफ रामपुरका अध्यक्ष एवं प्रतिमा प्रतिक इन्टरप्राईजेजका प्रोप्राईटर कृतिनाथ श्रेष्ठ, तृतीय पुरस्कार सामुदायिक रेडियो रामपुरका अध्यक्ष राजेन्द्र लम्साल र सान्त्वना पुरस्कार तालपोखरा संरक्षण समितिले प्रयोजन गरेको थियो ।

गौशालाका उपाध्यक्ष थानेश्वर अधिकारीको स्वागत बाट सुरु भएको कार्यक्रमको नगर गौशाला समितिका अध्यक्ष हुमनाथ न्यौपानेको अध्यक्षतामा र सञ्चालन सचिव बासुदेव ढकालको सञ्चालनमा भएको हो ।