पाल्पा । आज ४३ औं राष्ट्रिय मगर एकता दिवस धुमधामका साथ मनाईदैछ । आदिबासी जनजाति समुदाय अन्तर्गत रहेको मगर समुदायले अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवम् नेपाल मगर सङ्घको स्थापना भएको अवसरमा फागुन १५ गतेलाई राष्ट्रिय मगर एकता दिवस मनाउँदै आएका छन् ।
४३ औं राष्ट्रिय मगर एकता दिवस “मगरात सभ्यता दस्तावेजिकरण गर्दै, लखन संस्कृति संग्राहालय बनाऔं, सांगठनिक रुपमा ४३ औं स्थापना दिवस सफल पारौं ।” भन्ने नाराका देश भर मनाउन लागिएको नेपाल मगर संघले जनाएको छ । मगर बाहुल्यता रहेको जिल्ला पाल्पामा दिवसलाई आज धुमधामका साथ मनाईदै छ ।
मगर समुदायको पहिचानको रुपमा रहेका कला र संस्कृति संरक्षण एवं प्रवद्र्धन मुख्य मुद्दा रहेको बताउनुभयो ।
पाल्पाको रामपुरमा एकिकृत मगर उत्थान समाज रामपुर र नेपाल मगर संघ रामपुरले संयुक्त रुपमा कार्यक्रम गरी दिवस विशेष कार्यक्रम गर्दैछ । एकिकृत मगर उत्थान समाजको १७ औँ बार्षिक उत्सव तथा ४३ औँ राष्ट्रिय मगर एकता दिवस विविध सांस्कृतिक कार्यक्रमका साथ मनाउन लागेको हो ।
रामपुर नगरपालिकाको मुख्य बजार बेझाँडमा भव्यताका साथ दिवस बनाउने तयारी भैरहेको एकिकृत मगर उत्थान समाजका अध्यक्ष क्याप्टेन देव बहादुर थापा मश्राङ्गीले जानकारी दिनुभयो ।
कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरी तयारी गरिएको समाजका सहअध्यक्ष नरेन्द्र कुमार जर्घाले बताउनुभयो । कार्यक्रममा मगर समुदायमा प्रचलित झ्याउरे, सालैजो, कृष्ण चरित्र ठुलो नाच, कौरा, ठाडो भाका, यानीमाया लगाएतका विभिन्न झाँकी प्रस्तुति रहने छ । कार्यक्रमको पूर्व सन्ध्यामा मौलिक पोसाक सहित झाँकी र नौमती पञ्चे बाजाका साथ हजारौंको सहभागीतामा र्याली निकालिदै छ ।
कार्यक्रमको अवसरमा विभिन्न मगरी खानाका परिकारहरु विक्री तथा प्रर्दशनी पनि रहने छ । रामपुर ५ बेझाँड बजार, रामपुर युवा क्लवको मञ्च भवनमा हुने कार्यक्रममा ज्येष्ठ नागरिक एवं विद्यार्थी सम्मान सहित ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहने छ । दिवसको पूर्व सन्ध्यामा बुधबार रामपुरमा सद्भाव पूर्ण मोटरसाईकल र्याली निकालिएको थियो ।
दिवसको अवसरमा पाल्पा बिदा
पाल्पाका १० वटै स्थानीय तहले राष्ट्रिय मगर एकता दिवसको आज सार्वजनिक बिदा दिएको छ । दुई नगरपालिका र आठ गाउँपालिकाले सूचना जारी गर्दै ४३ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा बिदा दिएको हो । मगर जातिको बाहुल्यता रहेको पाल्पामा दिवसको अवसर पारेर सबै पालिका, वडा तथा टोलटोलमा मौलिक सांस्कृतिक झाँकी प्रदर्शनसहित विविध कार्यक्रमहरू हुँदैछ । पालिकाका कार्यालय, मातहतका सम्पूर्ण कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था तथा अन्य सार्वजनिक सङ्घ संस्थाहरूमा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द रहने जानकारी दिएको छ ।


