एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पाल्पा आउदै

बोली खबर   १५ फाल्गुन २०८१, बिहीबार १३:३७

पाल्पा, १५ फागुन । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल यहि १६ गते पाल्पाको तानसेन आउने हुनु भएको छ ।नेकपा एमाले पाल्पाको जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रमका लागी पोखरेल पाल्पा आउन लाग्नु भएको हो ।


आइतबार तानसेनमा सम्पन्न एमाले पाल्पाको दोस्रो बैठकले यही फागुन १६ गते कार्यक्रम गर्ने निर्णय गरेको हो । तानसेन नगरपालिकाको सभाहलमा हुने कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रशिक्षण दिने कार्यक्रम रहेको एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तिमगरले बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय नेतादेखि वडा कमिटीका अध्यक्षहरूको सहभागिता रहने छ । एमालेबाट निर्वाचित जनप्रतिनिधि, जनसंगठनका केन्द्र र प्रदेश र जिल्ला कमिटी पदाधिकारीहरू सहभागी हुन पाउने उहाँले बताउनुभयो । अध्यक्ष घर्तिमगरका अनुसार पार्टी नेतृत्व र जनप्रतिनिधि बीच यही फागुन १७ गते तानसेनमा अन्तरक्रिया हुने भएको छ ।

एमाले पाल्पाको बैठकले वडा केन्द्रीत तीन महिने अभियान प्रभावकारी ढंगबाट सम्पन्न गर्ने निर्णय गरेको छ । अभियानका क्रममा २०८२ को पार्टी सदस्यता नवीकरण चैत १५ गतेसम्म सम्पन्न गर्नुपर्नेछ तोकिएको समयमा पालिका कमिटी मार्फत जिल्ला कार्यालयमा नवीकरणको विवरण बुझाउनुपर्ने छ । पार्टी सदस्यता विस्तार अभियानको रुपमा सञ्चालन गर्ने, पालिका कमिटी बैैठक तथा भेला गरी अभियानको व्यवस्थापन र योजना बनाइने छ । यस्तै वडा कमिटीहरुको बैठक आयोजना गरी अभियान केन्द्रीत योजना बनाई कार्यान्वयन गर्ने, टोल कमिटी निर्माण गरी बैठक नियमित गर्ने, वडा स्तरीय पार्टी प्रशिक्षण संचालन गर्ने, युवाहरूलाई कम्तीमा एक तिहाई समेट्ने र युवाहरुको विवरण संकलन गर्ने कार्यक्रम रहेको एमाले पाल्पाका सचिव रामजी पोखरेलले जानकारी दिनुभयो ।

यसैगरी मिथ्या र भ्रामक प्रचारको खण्डन र सकारात्मक प्रचारको कामलाई अभियानका रुपमा सञ्चालन गर्ने, विकास निर्माण, सुशासन र उद्यमशीलतामा पार्टी पङ्क्तिलाई जोड्ने, पार्टीलाई अधारभूत तहसम्म विस्तार गर्ने, प्रत्येक वडा तहसम्म जनसंगठन निर्माण गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।