गल्धाफाँट र कठैडाँडा जोड्ने निस्दी खोला पक्की पुलको शिलान्यास, स्थानीयबासी खुशी

बाेलीखबर   २० फाल्गुन २०८१, मंगलवार १०:२२

पाल्पा । निस्दी गाउँपालिका–५, गल्धाफाँट र कठैडाँडा जोड्ने निस्दी खोला पक्की पुलको शिलान्यास गरिएको छ । गल्धाफाँट–कठैडाँडा सडकखण्ड अन्तर्गत निस्दी खोलामा निर्माण हुन लागेको पुलको सोमबार शिलान्यास गरिएको हो ।

पुलको शिलान्यास गर्नुहुँदै लुम्बिनी प्रदेश पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन र यातायातको पहुँचलाई सहज बनाउन पुल निर्माणले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । पुल निर्माणको लागि मन्त्रालयले यस वर्ष ५० लाख विनियोजन गरेको जानकारी दिदै निर्धारित समयमा पुल सम्पन्न गर्नको लागि रकमको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । मन्त्री ढकालले समयमै काम सम्पन्न गर्नका लागि स्थानीयलाई अनुगमन, निरिक्षण संगै आवश्यक सहयोग गर्नुभयो ।

मन्त्री ढकालले कहिले एमाले र कहिले कांग्रेसमा ठिक्क हुने केही राजनीतिक दलको कारण मुलुक अस्थिरता तर्फ ढकेलिएको सन्दर्भमा मुलुकलाई उन्नतिको बाटोमा लैजान कांग्रेस र एमाले गरेर अघि बढेको बताउनुभयो । कांग्रेस एमालेले अन्य सबै शक्तिलाई मिलाएर जानु आवश्यक रहेको बताउनुभयो ।

प्रतिनिधी सभा सदस्य नारायण प्रसाद आचार्यले निस्दी गाउँपालिकामा पछिल्लो समय संघ र प्रदेश सरकार मार्फत रणनैतिक सडक पूर्वाधार निर्माणका कार्य अघि बढेको बताउनुभयो । निस्दीमा सडक, पुल, अस्पताल लगाएतका पूर्वाधार निर्माण भैरहेको जानकारी गराउनुभयो । अम्रिसो खेती, पशुपालन, अदुवा, गेडागुडी उत्पादन मार्फत स्थानीय आत्मनिर्भरता तर्फ अघि बढन सफल भएको उहाँको भनाई थियो ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले विकासका लागि जनप्रतिनिधिहरु सहकार्य गर्दै अघि बढेको बताउनुभयो । निस्दीमा मगर संस्कृतिलाई प्रर्वद्धन गर्दै पर्यटनको विकास गर्न सकिने बताउनुभयो । उहाँले पूर्वाधार निर्माण, पर्यटन एवं कृषिको उत्थान संगै सामाजिक विकासलाई पनि ध्यान दिनु आवश्यक रहेको बताउनुभयो ।

लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले अधिकांश गाउँ तथा टोल सडक सञ्जाल संग जोडिएको बताउँदै अब स्तरोन्नतिको खाँचो रहेको बताउनुभयो । निस्दीको स्थानीय उत्पादन बजारिकरणमा सडक पूर्वाधार निर्माणले टेवा दिएको बताउनुभयो ।

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले पुल निर्माणले स्थानीयको जीवनयापनमा महत्वपूर्ण टेवा दिने बताउनुभयो । निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले पुल निर्माणको लागि बजेट विनियोजन गरेकोमा आभार व्यक्त गर्दै प्रदेशले पुल बनाउने मात्र नभै संघ र स्थानीय तहलाई जेड्न प्रदेशले पुलको काम गरेको बताउनुभयो । पुल निर्माण समय मै सम्पन्न गर्नका लागि आवश्यक साथ र सहयोग गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव भीमार्जुन पाण्डेले आरसिसि, टि–गर्डर मोटरेवल पुल ओंपन फाउनडेसन मोडलमा निर्माण हुने जानकारी दिनुभयो । दुई स्पान सहितको पुलको लम्बाई ५३ मिटर र चौडाई १० मिटर रहेको छ । निर्माण व्यवसायी खिम बहादुर केसी पुरुषोत्तम ले पुल निर्माण कार्य समय मै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

निस्दी खोला पुल निर्माणको लागि सडक पूर्वाधार विकास कार्यालय पाल्पाले सात करोड १० लाख १९ हजार ६३३ रुपैयाँ ६ पैसा लागत अनुमान सहित ठेक्का आह्वान गरेको थियो । शुभलक्ष्मी–शुक्र कमली–हेभन जेभि कञ्चनपुरले भ्याट सहित पाँच करोड ९८ लाख ६३ हजार ९३३ रुपैयाँ २४ पैसा लागतमा दुई वर्ष भित्र सम्पन्न गर्ने गरी गत कार्तिक ४ मा ठेक्का सम्झौता गरेको हो । उहाँले कोदो घरेलु मदिरा ब्राण्डिङ्ग गर्न नीतिगत समस्याको समाधान गर्न आग्रह गर्नुभयो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव भीमार्जुन पाण्डेको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन निस्दी गाउँपालिकाका प्रशासन अधिकृत अर्जुन खनालले गर्नु भएको थियो । पुल निर्माण पश्चात निस्दी गाउँपालिका वडा नं। ५ का गल्धा फाँट, कठैडाँडा, कोटथर, राईकोट, धनुबास, गाबुडाँडा, पटकसार, खरकडाँडा लगाएतका स्थानीयलाई सहज हुने वडा नं। ५ का वडा अध्यक्ष दुर्गा बहादुर सोमैले बताउनुभयो ।