शान्तपुर्ण वातावरणमा स्ववियु निर्वाचन सम्पन्न

बोली खबर   २०८१-१२-०४

त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज सम्पन्न भएको छ । आज बिहान ८ बजेदेखि स्ववियु पदाधिकारी चयनका लागि मतदान सुरु भएको हो ।

पाल्पाका पाँच क्याम्पस मध्ये शहीद बहुमुखी क्याम्पस रामपुर र त्रिभुवन बहुमुखी क्याम्पसमा मात्र मतदान भएको हो।  अन्य तीन क्याम्पसहरु  सहमतिमा नेतृत्व गठन भैसकेको छ ।  दर्छा क्याम्पस, उद्बुद्ध क्याम्पस र <माण्डव्य बहुमुखी क्याम्पसमा सहमतिमा नेतृत्व निर्वाचित भैसकेको छ ।
तोकिएको स्ववियु निर्वाचनमा विभिन्न क्याम्पसका विद्यार्थीहरू लामबद्ध भएर मतदानमा सहभागी भएका छन् । मतदान अपरान्ह ४ बजेसम्म जारी रहेको थियो ।

शहीद बहुमुखी क्याम्पसमा प्रत्यक्ष तर्फ अनेरास्ववियु र अनेरास्ववियु(क्रान्तिकारी) को संयुक्त गठबन्धन र नेपाल विद्यार्थी संघ, उम्मेद्वारहरु विच प्रतिस्पर्धा भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का राजन गौतम र नेपाल विद्यार्थी संघ (नेवि संघ)का कसम मल्ल ठकुरी बिच प्रतिस्पर्धा भएको थियो ।
शहीद बहुमुखी क्याम्पसमा ७ सय १५ जना मतदातामा ५७१ मत खसेको छ ।
  क्याम्पस परिसरमा मतदानका लागि विद्यार्थीहरु लामबद्ध रहेका थिए भने विद्यार्थी संगै राजनैतिक दलका विभिन्न तहमा रहेका व्यक्तिहरु उम्मेद्वारहरुको होसलाका लागि पुगेका देखिन्थे । मतदान स्थलमा सुरक्षा प्रबन्ध कडा बनाईएको थियो । शान्त र मर्यादित वातावरणमा मतदान सम्पन्न भएको छ । मत साझ ७ बजे बाट गणना हुने निर्वाचन समितिले जनाएको छ ।

त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा स्ववियुका लागि भएको मतदानमा कुल मतदाता विद्यार्थी १ हजार ८९४ मध्ये १ हजार २२८ मत खसेको निर्वचन अधिकृत जीवन बहादुर थापाले जानकारी दिनुभयो । योे कुल मतदाताको झण्डै ६४ दशमलभ ८३ प्रतिशत हो ।