
पाल्पा । विद्यालय शिक्षा विधेयक जारी लगायतका माग राखेर गत चैत्र २० गतेदेखि शिक्षकहरु आन्दोलनमा छन् । काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरु बिहीबार २३ औँ दिनको आन्दोलनमा छन् ।
चर्को घाममा पनि उनीहरु माइतीघरदेखि नयाँ बानेश्वर सडकमा छाता ओढेर आन्दोलन गरिरहेका छन् । नेपाल शिक्षक महासंघको अगुवाईमा भइरहेको आन्दोलन स्थगित गर्न सरकारले आग्रह गरेपनि माग सम्बोधनमा सरकारले तदारुकता नदेखाएपछि आन्दोलन स्थगित गरेका छैनन् ।
शिक्षक र सरकारबिच पटकपटक वार्ता भएपनि वार्ता निष्कर्षमा भने पुग्न सकिएको छैन ।
शिक्षकहरु आन्दोलन बारे केही बोल्नै मन लाग्यो:
१. अहिले विद्यालय सुचारू हुन सकेनन्-धरती नै भासिन लाग्यो भनेर चिन्ता गर्नु जरुरी छैन । विगतमा पनि वैशाख १५ अगाडि पठन पाठन सुचारु हुन्थेन । त्यसैले चिन्ता र चासो गर्नेहरुले आन्दोलन थप लम्ब्याउन नदिन र शिक्षकका मुद्धा चाँडो Settle गर्न दबाब दिनु बुद्धिमानी हुन्छ I २. शिक्षकले आन्दोलनमा मागेका सबै माग समग्र शैक्षिक रुपान्तरणका लागि योग्य छैनन् I तर, केही माग यस्ता छन्- जसलाई पुरा नगर्ने हो भने शिक्षण गर्न सक्षम नयाँ पुस्ता आउने छैनन् I सबैलाई मुछेर शिक्षक आन्दोलन खराब हो भनेर हिलो नच्छ्यापौं I
३. काठमाडौँमा आन्दोलन चर्किरहँदा केही शिक्षक आफ्ना छोराछोरीलाई भर्ना गराउन निजी विद्यालय धाउने गरेको देखिएको छ I यी शिक्षक होइनन् – धमिरा हुन् I केही हजार धमिराले सबै शिक्षकलाई बदनाम गराएका छन् I
४. दलको झोले भएकै कारण राज्य सत्ताले अहिलेसम्म शिक्षक आन्दोलनलाई नजरअन्दाज गरेको हो I सत्ताले शिक्षकलाई शिक्षकका रुपमा होइन-कार्यकर्ताका रुपमा हेरेका छन् – “आफ्नै पार्टीका बिरुद्ध आन्दोलन गर्ने ?” यिनै झोलेका कारण स्वतन्त्र पेशाकर्मी शिक्षकको शिर निहुरिएको छ I प्रधानमन्त्रीकै भनाइ अनुसार – उहाँहरुकै अनुकम्पाबाट प्राप्त भएको ट्रेड युनियनका नाममा राजनीति गरिरहेका विभिन्न दलका कार्यकर्ता ! विश्व शिक्षक आन्दोलनमा सबैभन्दा ठूलो, तर सबैभन्दा कमजोर आन्दोलन हुनुको कारण बुझेर “हामी अब झोले बन्दैनौँ” भनेर सदस्यता त्याग्न सकिन्न ?
५. आजका दिनसम्म आइपुगेको आन्दोलनलाई निर्णायक बिन्दुमा लैजान सबै पक्षको सहयोग हुनु पर्नेमा “पढ्न पाउनुपर्ने नैसर्गिक अधिकार” का रुपमा ब्याख्या गरेर विज्ञाप्ति जारी भएका छन्, सार्वजनिक वक्तव्यबाजी गरिएका छन् I शिक्षकका अभावमा लाखौँ बालबालिकाको पढाइ वर्षौंदेखि प्रभावित हुँदै गर्दा तपाईंहरुको “मानवअधिकार’ कुन दुलोमा लुकेको थियो ?
६. यो आन्दोलनका सकारात्मक पक्ष पनि छन् I यो आन्दोलन “शिक्षक सुद्धिकरण”को एउटा अनुपम अवसर हो I परीक्षा लिएर असक्षम शिक्षक कर्मचारीलाई आर्थिक प्याकेज सहित बिदा गरेर Waiting मा रहेका सक्षम युवा शिक्षकलाई सेवामा प्रवेश गराउने यो नै एक अनुपम अवसर हो I यसले नेपालको शैक्षिक रुपान्तरणको यात्रामा Milestone को काम गर्नेछ I
७. शिक्षकले मागेका न्यूनतम सेवा सुविधाका विषय राज्यले जसरी पनि पुरा गर्नुपर्छ I आफ्ना सेवा सुविधा घटाएर हुन्छ कि राज्यका आय स्रोत बढाएर हुन्छ – शिक्षाका माध्यमबाट मानवस्रोत निर्माणमा गरिएको लगानी खर्च होइन -यसले भविष्यमा प्रतिफल दिन्छ ! देशभरिका माध्यमिक तहका विद्यालयलाई मर्ज गरेर कक्षा ५ सम्म समुदायमै संचालन गर्ने तथा ६ देखि माथि मेगा विद्यालयको अवधारणामा आवासीय रुपमा संचालन गर्ने हो भने दरबन्दी, लागत लगायत सबैको समस्या समाधान हुन्छ I गर्ने हो त ?
८. जसले पनि शिक्षकलाई ट्युसन पढाएको देखिन्छ I नतिजा बिग्रनुमा शिक्षक एक्लैको जिम्मेवारी होइन – विद्यालय कसरी चलेका छन् त्यो मैले आफ्नै आँखाले देखेको छु -एक ठाउँमा होइन, हजारौं विद्यालयमा (हिमाल, पहाड, तराई) सबैतिर ! गैर जिम्मेवार शिक्षकलाई कारवाही गर्न नसक्नु, कर्तव्य निष्ठ शिक्षकलाई पुरष्कृत गर्न नसक्नु, नियमित विद्यालय अनुगमन गर्न नसक्नु, विद्यालयलाई आवश्यक स्रोत र दरबन्दी दिन नसक्नु शिक्षकका समस्या होइनन् !
९. कमजोर नतिजा ल्याउने, कक्षा ८ का परीक्षामा नील खाएका विद्यालयका समाचार पनि आएका छन् I माध्यमिक तहमा पुगेका विद्यार्थीले समेत पढ्नै नजान्ने अवस्था पनि देखिएका छन् I त्यस्ता विद्यालयलाई स्पष्टिकरण सोध्ने, सहयोग आवश्यक परेमा सहजीकरण गर्ने अथवा कारवाही गर्ने अधिकार पाएकाले आफ्नो काम किन नगरेका ? कसले रोकेको छ ?
१०. विद्यालय र शिक्षकलाई आवश्यकलाई न्यूनतम कुरा के हुन् ? गाह्रो-अफ्ट्यारो परेका कुरा के हुन् ? बसेर सुनिदिनु पर्दैन ? नेताले त धैर्यतापुर्वक समस्या सुनिदिएर समाधान पो गर्ने हो त ? समस्यामा परें भनेर आन्दोलित शिक्षकलाई हप्की र दप्की गरेर, निराश बनाएर कस्तो सुधारको अपेक्षा गरिएको हो ? यो मुलूकमा अभिभावक को हो ?
११. शिक्षकका जायज माग र मुद्धालाई सम्बोधन गर्न सबै मिलेर प्रयत्न गरौँ I अरु एक हप्ता आन्दोलन लम्बिंदा बिग्रिएर चौपट्ट भैहाल्ने केही छैन – केही ढिलो भएको हो I आज सबै मिलेर शिक्षकका लागि लडौँ, शिक्षकको आवाज बनौँ – भोलि हामी सबै मिलेर फेरि शिक्षकसँग गुणस्तर खोजौँ I गुणस्तर दिन नसकेमा शिक्षक नै जिम्मेवार हो भन्ने अवस्थामा पुग्न पनि शिक्षकका केही माग पुरा हुनुपर्दछ I