पहिरोमा गुमियो रामपुरको आशा : जनकको निधनले शोकमा डुब्यो तालपोखरा

बोली खबर   २०८२-०३-२५


खै कहाँ बाट सुरु गरु प्यारो भाइ जनक हामी माझ रहेनै भन्न र लेख्न गार्‍हो भैरहेको छ केही दिनअघि मोटरसाइकलमा शिब दाइको पछि बसेका थियौ , तिमिले तिमिले दिदी के छ खबर —“कता जानु भो दिदी? के छ आजभोलि? तपाइँको अचार कस्तो चलेको? बारीमा बिरुवा कति लगाउनु भयो?”अब ती प्रश्नहरू पनि साथमा सधैंका लागि बगाइदिएको छ पहिरोले। अब बाटोमा होस या अन्त कतै तिमिले सोध्ने छैनौ र देख्न नपाइने गरि गयै तिमी ।।

कहिल्यै नहाँसी नबाेल्ने जनक भाइ,अब सदाका लागि यो हाँसो हराएको छ । सानो उमेरमै वडा अध्यक्षको उम्मेदवार ,नवदुर्गा माबीको अध्यक्ष ,तालपोखरा संरक्षण समिति सचिव, खानेपानी लगायतमा रहेर सामाजिक कार्यमा अग्रसर युवा अचानक दुर्घटनामा ज्यान गुमाएको खबरले यतिबेला रामपुर स्तब्ध छ । आकाश अँध्यारो छ,पानी परिरहेको छ ।बास्तबमा रामपुर रोहेको छ । मान्छेको लेखान्त कस्तो होला , केही गरौ भन्ने तिब्र इच्छा भएका एउटा कलकलाउदो युवालाई सिद्धबाबा पहिरोले लगेको छ ।

पाल्पाको रामपुर नगरपालिका–६ तालपोखराका जनक भण्डारी मंगलबार बिहानै श्रीमती कल्पनालाई मोटरसाइकलको पछाडि राखेर बुटवल निस्केका रहेछौ। लोकसेवा आयोगको तयारीमा गरेकी बुहारी कल्पनाको बुटवलमा दिउँसो पहिलोपत्रको परीक्षा थियो ।

बैंकिङ तयारी गर्नु भएकि कल्पनाले बुटवलको एक विद्यालयमा दिउँसो ४ बजेट परीक्षा दिएपछि खाजा खाएर जनक र कल्पना हतार–हतार घर फर्किदै थिए । किनभने, बुधबार घरमा एकाहा पूजा हुँदै थियो । बिहान खासै पानी नपरेको बुटवल क्षेत्रमा दिउँसो दुई बजेपछि ठूलो पानी परेको थियो ।

मोटरसाइकल र जनकलाई पहिरोले लछार्दै राजमार्गबाट झण्डै १०० मिटर तल तिनाउ नदीको किराना पुर्‍यायो । अचेत रहेका जनकलाई तत्काल प्रहरीले उद्दारगरी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल ल्याए पनि बचाउन सकिएन ।

अस्पताल पुग्नेवित्तिकै उनलाई मृत घोषित गरियो । अधिकांश कामको लागि बुटवल आउजाउ गर्ने जनक त्यहीँ सधैं ख्याल गर्ने शिद्धबाबा पहिरोको शिकार बन्न पुगे ।

भाग्यबस मोटरसाइकल पछाडि रहेकी श्रीमती कल्पना सामान्य चोट लागे पनि बाँच्न सफल भइन । तर, कल्पनाको जीवन र खुसी काखैबाट पहिरोले चुडियो ।


जनक भण्डारी रामपुरको उदाउँदो नेता मात्र होइन, समाजसेवी र सफल उद्यमीका रूपमा परिचित थिए। पानी उद्योग सञ्चालन गर्दै आएका उनले युवाहरूमाझ आशा र प्रेरणाको केन्द्र बनिरहेका थिए। उनी एमाले जिल्ला कमिटी पाल्पाका सदस्य थिए र वडा अध्यक्षको उम्मेदवार पनि भएका थिए।
उनका मिल्ने साथी शिव देवकोटा भन्छन्, “रामपुरले अब्बल युवा, असल उद्यमी र नेतृत्व क्षमता भएका व्यक्तित्व गुमाएको छ।” जनकले सँधै देशमै केही गर्नुपर्छ, युवालाई दिशा देखाउनुपर्छ भन्ने दृढ सोच राखेका थिए।
जनकका साथी शंकर गौतम भावुक हुँदै भन्छन्, “हरेक भेटमा जनकले रामपुरको विकास, राजनीति र समाज रुपान्तरणका कुरा गर्थे। अब त्यो आवाज सधैंको लागि हरायो।”
उनका अर्का साथी मन्जु मल्ल भन्छिन्, “हिजो मात्र भटेर गफ गरेको थिएँ, कहाँ थाहा थियो यो अन्तिम गफ हुनेछ भनेर।”
परिवारका एक्ला छोरा जनकको निधनले सम्पूर्ण भण्डारी परिवारमा शोकको छायाँ छाएको छ। उनका बाबा सागर भण्डारी दरैठाटी माध्यमिक विद्यालयका स्थायी शिक्षक हुन्। श्रीमती कल्पना र ७ वर्षीया छोरीको भविष्यमाथि अचानक कालो बादल मडारिएको छ।
उनको शव बुधबार रामपुर ल्याइने कार्यक्रम तय गरिएको छ। दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षक रुम केसीले तत्काल उद्धार भए तापनि गम्भीर चोटका कारण जनकको ज्यान जोगाउन नसकिएको बताए।
शिद्धबाबा खण्डमा वर्षायाममा बारम्बार पहिरो खस्ने जोखिम रहेकै बेला यो घटना भएको हो।आज, रामपुर मात्रै होइन, सम्पूर्ण पाल्पा जनकलाई सम्झेर शोकमग्न छ।

श्रद्धाञ्जली जनक भण्डारीलाई — जसले सपना देख्थे, नदेख्नेहरूलाई देखाउने सपना बोकेका थिए।