मुख्यमन्त्रीः आचार्यलाई नेकपा एमाले रामपुरको ८ बुँदे माग पत्र (पूर्ण पाठसहित)

बाेलीखबर   २०८२-०१-१२

पाल्पा । लुम्बिनी प्रदेशका मुख्य मन्त्री एवं नेकपा एमाले केन्द्रिय पोलीटव्युरो सदस्य चेत नारायण आचार्यलाई विकास निर्माणका महात्वपूर्ण योजना सहित ८ बुँदे माग पत्र पेश गरेको छ । नेकपा एमाले रामपुर नगर कमिटीको पार्टी कार्यालयमा भएको भेटघाट कार्यक्रममा
नेकपा एमाले रामपुर नगर कमिटीका अध्यक्ष लिला बहादुर गाहाले माग पत्र मुख्यमन्त्री आचार्यलाई हस्तान्तरण गर्नुभएको हो । माग पत्रबारे सम्बोधन गर्नुहुदै मुख्यमन्त्री आचार्यले रामपुरको समृद्धि र बिकासका लागि सधै लागि पर्ने बताउनु भएको छ ।

मुख्यमन्त्री आचार्यले राजनीतिक अस्थिरतालाइ अन्त्य गर्ने गरि दुई ठुला दल मिलेर बनेको अहिलेको सरकार नढल्ल्ने भन्दै अहिले लुम्बिनी सरकारले धेरै काम गरेको बताउनु भएको छ । उहाँले धेरै सुधार गर्दै अघि बढेको बताउदै खर्च कटौतीमा लागेको समेत उल्लेख गर्नु भएको छ ।

नेकपा एमाले भोजराज श्रेष्ठले जनता सङ्ग प्रत्येक्ष सम्लग्न हुने काम गर्नुपर्ने र जनता सम्बिधानले उल्लेख गरेको काम पूरा गर्न लाग्नु पर्ने बताउनु भएको छ । यसमा पार्टीले रचनात्मक भुमिका निर्वाह गर्नु पर्ने बताउनु भएको छ ।

भेटघाटमा नगर कमिटी अध्यक्ष लील बहादुर गाहाले रामपुरलाई शहरीकरण गर्दै लैजाने सम्बन्धमा बिकास निर्माणका लागि माग राख्नु भएको छ उहाँले विभिन्न ८ वटा माग राख्नु भएको छ ।

मागको पुर्ण पाठ यस प्रकार छ ।

माननीय मुख्य मन्त्री ज्यू,
लुम्बिनी प्रदेश सरकार
डाेरमुकाम – रामपुर नगरपालिका ५, पाल्पा

विषयः विकास निर्माणका महत्वपूर्ण योजना माग गरिएको सम्बन्धमा ।

माननीय महोदय,
प्रस्तुत विषयमा पाल्पा रामपुर नगरपालिका अन्तर्गत अत्यावश्यक योजना तथा शहरी विकास अन्तर्गतका योजना तथा कार्यक्रम लुम्बिनी प्रदेश सरकारबाट माननीय मुख्य मन्त्रीको अवधी देखि नै रामपुरलाई एक पर्यटकीय र नमुना शहर बनाउने उद्देश्यका साथ ध्यान दिई बजेट विनियोजन तथा कार्यान्वयन हुने क्रमबाट आईरहेको भएतापनि कतिपय योजना अधुरै रहेका, शहरी विकास अन्तर्गतका योजना अपुग अप्रयाप्त भएका र जनसरोकारका योजना तथा विकास निर्माणका कार्य अत्यावश्यक देखिएकाले विभिन्न निम्न विषयहरुसंग सम्बन्धित मागहरु नेकपा एमाले रामपुर नगर कमिटीको तर्फबाट प्रस्तुत गर्दछौं ।

१। रामपुर शहरी विकास अन्तर्गतको हाल सञ्चालनमा रहेको रामपुर नमुना शहर निर्माणको योजनालाई सम्पन्न गर्न र थप योजना विस्तारका लागि बजेट विनियोजनको व्यवस्था गर्न हाम्रो अनुरोध छ ।
२। रामपुर फाँट सिंचाई योजनाको नहर पूनःनिर्माणका लागि हाल बनेको प्राविधिक स्टमेट अनुसार बहुवर्षीय आयोजनाको रुपमा सञ्चालन गरिदिनुहुन साथै कालिगण्डकी तटीय क्षेत्रमा सुख्खा रहेका टार र जमिनको सिंचाईको व्यवस्था गर्न अनुरोध छ ।
३। रामपुर अस्पताल कालिगण्डकी उपत्यका भित्रको पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी र नवलपुरको संगम र पायक स्थलको एकमात्र सरकारी अस्पताल भएकाले यसको स्तरोन्नती गर्न र सेवा सुलभ र छिटो छरितो गराउन अति आवश्यक भएको हुँदा यस अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गरि दरवन्दी अनुसारका चिकित्सक कर्मचारीको परिपूर्ती र सेवा कार्य प्रभावकारी बनाउन हाम्रो जोड छ ।
४। रामपुर कपुरकोट सडक अन्तर्गत आर्यभन्ञ्याङ–रामपुर खण्डको निर्माण बजेटमा वृद्धि गरि निर्माण कार्यलाई तिव्रता दिन र जब्गादी–रातमाटा–प्याकलुक पुल सम्मको सडक निर्माणको योजना अलग योजनाको रुपमा समावेश गरि निर्माण गर्न अनुरोध छ ।
५। रामपुर नगरपालिका कृषि जन्य र पशुजन्य उत्पादन र विकासको सम्भावना रहेको ठाउँ भएकोले अध्ययन गरि यस क्षेत्रलाई कृषि पकेट क्षेत्रको रुपमा विकास गरिदिनुहुन अनुरोध छ ।
६। पूर्वी पाल्पाको सामुदायिक रेडियो रामपुरको क्षमता अभिवृद्धि र भौतिक संरचना थप निर्माणका लागि आवश्यक वजेट विनियोजन गर्न अनुरोध छ ।
७। मदन–आश्रित स्मृति प्रतिष्ठान रामपुर ५ पाल्पाको अधुरो भवन निर्माण कार्य पुरा गर्न आवश्यक रकम विनियोजन गर्न अनुरोध छ ।
८। रामपुर नगरपालिका वडा नं। १० को हेक्लाङ्ग फाँट तथा कुमाल गाउँ सिंचाई कुलोलाई नहरमा विस्तार गरि सिंचाई व्यवस्थापन गर्नका लागि आवश्यक वजेट विनियोजन गरिदिनुहुन अनुरोध छ ।