
पाल्पा- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश गौरवका आयोजनालाई समयमा सम्पन्न गर्नेगरी सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ । नेपाल पत्रकार महासंघ पाल्पाले शुक्रबार पाल्पामा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सडक पूर्वाधार, प्राविधिक शिक्षा, स्वास्थ्य, प्रशासनिक केन्द्र निर्माणको कामलाई प्रदेश गौरवका आयोजनाको रूपमा तीव्र रूपमा कार्यान्वयन गरिरहेको र यी आयोजना सम्पन्न भएपछि प्रदेशले नयाँ उचाइ प्राप्त गर्ने बताउनु भएको हो । लुम्बिनी प्रदेश सरकारले पाल्पाको रामपुरदेखि पश्चिम उत्तर रोल्पाको जिनावाङ जोड्ने सडकलाई प्रदेश गौरवको आयोजनमा राखेर निर्माण शुरु गरेको गरेको हो । अहिले पनि सडक निर्माणको काम चलिरहेको छ । चार वटा प्याकेज निर्माण गरेर सडक निर्माणकाे काम चलिरहेकाे हाे ।
स्वास्थ्य उपचार सेवालाई प्रभावकारी बनाउन बुटवलमा सुविधा सम्पन्न अस्पताल निर्माणको काम तिब्ररुपमा भइरहेको छ । १२ तले एक हजार दुई शैया रहने यस अस्पताल भवन निर्माणको काम तिब्र रुपमा भइरहेको हो ।
६ अर्ब १८ करोड बढीको लागतमा २०८५ साल पुससम्ममा निर्माण सम्पन्न गर्नेगरी योजना छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा ३ अर्ब ९ करोड रुपैयाँको लागतमा प्रशासनिक केन्द्रको निर्माण काम चलिरहेको छ । मुख्यमन्त्री कार्यालय सहित १० वटा मन्त्रालयको निर्माणको काम अन्तिम अवस्थामा पुगेको छ । हाल ७५ प्रतिशत काम पूरा भइसकेको छ ।
यस्तै मुख्यमन्त्री आचार्यले मुलुकमा राजनीतिक स्थायित्व दिने गरी केही मिसनका साथ दुई ठूला राजनीतिक दलको समिकरणमा संयुक्त सरकार बनेको बताउनु भयाे । वर्तमान सरकार बन्नुको पछाडिको कारण राजनीतिक अस्थिरतालाई अन्त्य गर्नु हो । नौ महिनाको अवधिमा धेरै सुधारका कामहरू अघि बढाएका छौँ´उहाँले भन्नुभयाे-
फजुल खर्च कटौतीदेखि सुशासन कायम गर्ने गरी सरकारले सुधारको काम गरेको छ ।´ मुख्यमन्त्री आचार्यले विकास निर्माणको कामलाई गति बढाउने र योजनाको प्राथमिकीकरणमा समेत सरकारले ध्यान दिएको बताउनु भएको हो ।
प्रदेश सरकार चाहिँदैन भनेर गलत भास्य खडा गर्न खोजिएको भन्दै आठ वर्षको अवधिमा प्रदेश सरकारबाट भएका कामहरुकाे खुलेर कुरा गर्नुपर्नेमा जाेड दिनुभयाे । याे अवधिमा सडक, पुल, खानेपानी, स्वास्थ्य लगायतका आयोजना सफल बनाउन प्रदेश सरकारले विशेष ध्यान दिएको बताउनु भयो ।
१२ जिल्लाका अस्पतालमा सर्वसुलभ रूपमा विशेषज्ञ उपचार सेवा पुर्याउन प्रदेश सरकारले ध्यान दिएको छ´ मुख्यमन्त्री आचार्यले भन्नुभयो-
विशेषज्ञ चिकित्सकको दरबन्दी सरकारले मिलाएको छ । प्रसूति सेवालाई पनि प्रभावकारी बनाएका छौँ ।´
मुटु, मृगौला, क्यान्सर रोगको उपचार सहुलियत सिफारिस जिल्ला तहबाट गर्ने व्यवस्था मिलाएको बताउनु भयो । प्रदेश सरकारले दुई लाख रुपैयाँ उपचारमा सहयाेग गर्दै आएकाे छ । यस्तै मुख्यमन्त्री आचार्यले उद्योग, पर्यटन र कृषि क्षेत्रलाई प्राथमिकता दिएर उल्लेख्य काम गरिएको स्पष्ट पार्नु भएको छ ।
पाल्पा जिल्ला नेपाल पत्रकार महासंघ पाल्पा शाखा उपाध्यक्ष बन्दना पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सह सचिब दानु हिस्की मगरको स्वागत र पत्रकार बासुदेब ढकालको धन्यवाद र सन्चालन सह सचिब दुर्गेस मल्लले सन्चालन गर्नु भएको थियो ।