एक घर एक धारा लुम्बिनी प्रदेश सरकारको अबको योजना : मुख्यमन्त्री आचार्य

बोली खबर   २०८२-०१-१३


होम राई मगर
पाल्पा / बैशाख १३ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको अबको योजना एक घर एक धारा रहेको बताउनुभएको छ । निस्दी गाउँपालिका पाल्पाको बहुउद्देश्यीय सभा हल उद्घाटन कार्यक्रममा मुख्यमन्त्री आचार्यले उक्त कुरा बताउनु भएको हो ।
    कार्यक्रम सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री आचार्यले स्थानीय जनताहरुले स्वच्छ खानेपानीको उपभोग गर्नका लागि प्राथमिकताका साथ कार्यक्रम सन्चालन गर्ने योजना रहेको बताउनुभयो । उहाँले महेन्द्र राजमार्गसंग जोडिने रामपुर-बेलडाँडा-अरुणखोला मोटरबाटो स्तरोन्नतिका लागि संघीय सरकारले योजना विनियोजन गरेको स्मरण गर्नु हुँदै उक्त योजना संघीय सरकारले पूरा गर्न नसके प्रदेश सरकारले जसरी पनि पूरा गर्न आफु तत्परता रहेको बताउनुभयो ।
      कार्यक्रममा विशिष्ट अतिथि रहनु भएका लुम्बिनी प्रदेशका पूर्व स्वस्थ्य मन्त्री भोज प्रसाद श्रेष्ठले राजनैतिक दलका कार्यकर्ताहरु इमानदार र स्थानीय जनता माथि जवाफदेहिता हुनुपर्ने बताउनुभयो । उहाँले निस्दीको प्रगति बिकासका लागि आवश्यकताको पहिचान गर्नुपर्नेमा जोड दिनुभएको थियो । त्यसैगरी प्रमुख सचिब बाबुराम अधिकारीले स्रोत प्राप्त गर्ने स्थानको पहिचान गरि योजना तथा कार्यक्रम सन्चालन गर्न सुझाव दिनु भएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले निस्दी गाउँपालिकाको योजना तथा कार्यक्रम बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले निस्दीको गौरवको योजनाको रुपमा रहेको केम खाम्चा मार्गलाई सम्पन्न गर्न प्रदेश सरकारको सहयोगको अपेक्षा गरिएको बताउनुभयो । त्यसैगरी निस्दीमा संचालित लामो तथा छोटो दुरीका मोटरबाटो स्तरोन्नतिका र पर्यटकीय स्थलहरुको संरक्षण र सम्बर्द्धनका लागि संघीय तथा प्रदेश सरकार समक्ष योजना तथा कार्यक्रमको लागि प्रस्तावना तयार गरिने बताउनुभयो ।
    लुम्बिनी प्रदेश सरकारको ६६ लाख रुपैयाँको आर्थिक सहयोगमा सम्पन्न भएको बहुउद्देश्यीय हल मित्यालको बसेनी डाँडामा रहेको छ । गाउँपालिकाका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सन्चालन प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले गर्नुभएको हो ।