माथागढी गाउँपालिकामा ५११ जना श्रमिककाे दुर्घटना वीमा

बोली खबर   २०८२-०१-१८


पाल्पा – माथागढी गाउँपालिकाले ५११ जना श्रमिककाे दुर्घटना वीमा गरेकाे छ । १३६ ओैँ अन्तरराष्ट्रिय श्रमिक दिवसकाे अवसर पारेर गाउँपालिकाले दुर्घटना वीमा गरेकाे हाे ।


काम गर्ने स्थलमा दुर्घटना भएर श्रमिककाे मृत्यु भए चार लाखसम्म वीमा रकम पाउने गरी श्रमिककाे वीमा गरिएकाे माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले जानकारी दिनुभयाे । दुर्घटना भएर उपचार गर्नुपरे १ लाखसम्म उपचार खर्च पाउने र अङ्ग गुमेमा चार लाखसम्म पालिकाभित्रका श्रमिकले सुविधा पाउने अध्यक्ष चिदीले बताउनुभयाे ।
काम गर्दागर्दै श्रम गर्ने मानिस दुर्घटनामा पर्न सक्छन्, दुर्घटना परेर मृत्यु हुन सक्छ, त्यसकाे केही राहत परिवारले पाउन् भनेर वीमा गरेकाछाैँ अध्यक्ष चिदीले भन्नुभयाे । यसबाट श्रम गरेर खाने नागरिकलाई राहत पुग्ने उहाँले बताउनुभयाे ।
श्रमिककाे वीमाका लागि आइजीआइ प्रुडेन्सियल इन्सुरेन्स कम्पनीसँग सम्झाैता भएकाे छ । दुर्घटना वीमा गरेका व्यक्तिले आफू घटनमा परेपछि तत्काल कम्पनी वा पालिकामा जानकारी दिएर सेवा लिन कम्पनीका प्रदेश प्रमुख ध्रुब प्रसाद काेइरालाले आग्रह गर्नुभयाे । यस्ताे काम पाल्पामै पहिलाे पटक भएकाे उहाँले बताउनुभयाे ।
यस्तै श्रमिक दिवसकाे अवसरमा माथागढी वडा नं ३ काे आयाेजनामा अन्तरक्रिया भएकाे छ ।

अन्तरक्रियामा आफ्नाे धारणा राख्नुहुँदै वडा अध्यक्ष तेजबहादुर घर्तीमगरले श्रमिककाे अधिकार स्थापित गर्न पालिका तत्पर रहेकाे बताउनुभयाे । उहाँले श्रमिककाे जीवन सुरक्षाका लागि आफूहरूले वडा र पालिकाकाे तर्फबाट निरन्तर काम गरिरहेकाे उल्लेख गर्नुभयाे । अन्तरक्रिया कार्यक्रम गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीकाे प्रमुख आतिथ्यता, वडाअध्यक्ष घर्तीमगरकाे अध्यक्षता र वडा सचिव केशव जाेशीकाे संचालनमा सम्पन्न भएकाे हाे ।