पाल्पा, रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाले जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ । संस्थाको १८ औं स्थापना दिवसको अवसरमा सहकारीमा आवद्ध ७५ वर्ष भन्दा माथिका जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गरेको हो ।
स्थापना दिवसको अवसरमा सहकारीको आफ्नै भवनमा विहिबार एक कार्यक्रम गरी जेष्ठ नागरिकहरुलाई नगद एक हजार र सम्मान पत्र सहित दोसला ओढाई सम्मान गरिएको छ।
कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथी थापाले बोल्दै जेष्ठ नागरिकहरु जिउँदो भगवान रहेको बताउनुभयो । सहकारीले चालेको कदमको प्रशंसा गर्नुहुँदै उहाँले जेष्ठ नागरिकको मार्गदर्शन र आशिर्वाद विना अन्य कुरा असम्भव रहेको बताउनुभयो । नगरपालिकाले जेष्ठ नागरिकहरुको सम्मानका लागि छिट्टै जेष्ठ नागरिक स्कुल सञ्चालनमा ल्याउन लागेको बताउनुभयो । समाजमा नैतिक शिक्षाको खडेरी रहेको वर्तमान अवस्थामा जेष्ठ नागरिकहरुको भुमिका महत्वपूर्णरहनेमा जोड दिनुभएको थियो ।
रामपुर साकोसका उपाध्यक्ष बाबुराम श्रेष्ठले संस्थालाई यहाँ सम्म ल्याउन जेष्ठ सदस्यहरुको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो । उहाँले नयाँ पुस्तालाई सस्कार र संस्कृति सिकाउनु आवश्यक रहेको बताउनुभयो । संस्थाका सल्लाहकार नगिलाल पौडेलले जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई व्यवस्थित बनाएर निरन्तरता दिन आग्रह गर्नुभयो ।
रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष गुरु प्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका अध्यक्ष गुरु प्रसाद रेग्मीले ७५ वर्ष भन्दा माथिका जेष्ठ सदस्यहरुलाई वार्षिककार्ययोजना अनुसार सम्मान गरिएको जानकारी दिनुभयो ।
सञ्चालक समिति सदस्य पवित्रा पौडेल ढकालको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव कृतिनाथ श्रेष्ठले गर्नु भएको हो । यस्तै सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत आजै रामतुलसी माविमा प्रतिक्षालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।





