पाल्पा रामपुर नगर गौशाला समिति, रामपुर-६, पाल्पाले ब्रोसर विमोचन गरेको छ । आइतबार एक कार्यक्रम गरि आफ्नो परिचय खुल्ने बेओसर बिमिचन गरेको हो । समितिले गौशालाको परिचय, धार्मिक, सांस्कृतिक महत्व, भावी योजनाहरु समावेश गरेर प्रकाशन गरिएको ब्रोसरको विमोचन गरिएको हो ।
ब्रोसरको विमोचन कार्यक्रममा प्रमुख अतिथि नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा रहनु भएको हो । नगर प्रमुख थापाले नगर गौशालाले गाईको संरक्षण संगै यस क्षेत्रको धार्मिक महत्व र रामपुर नगरको धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो । गौशालाले नगरलाई चिनाउन तथा गरिमा थप उच्च बनाउन सहयोग गरेको भन्दै नगरपालिका गौशालाको दिगो व्यवस्थापनका लागि सदा तप्पर रहेको बताउनुभयो ।
गौशालाको महत्वको बारेमा जानकारी दिन तथा प्रचार प्रसारका लागि समिति ब्रोसर तयार गरेको रामपुर नगर गौशाला समितिका अध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो । उहाँले गौशालाको वर्तमान अवस्था र भावी योजनालाई समेटेर ब्रोसर तयार गरिएको जानकारी दिनुभयो । जेष्ठ नागरिक संघ पाल्पाका अध्यक्ष एवं नगर गौशालाका सल्लाहाकार देवराज ढकालले गौशालाको विकासमा सबैको साथ र सहयोगको खाँचो रहेको बताउनुभयो ।
कार्यक्रममा कानुनी परामर्श सल्लाहाकार लेखनाथ शर्मा मरासिनीले ब्रोसरमा समेटिएका विषय वस्तुको बारेमा जानकारी दिनु हुँदै सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।नगर गौशाला समितिका अध्यक्ष हुमनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यता र सहसचिव लक्ष्मीदेवी ढकालको सञ्चालनमा भएको हो ।



