रम्भामा यार्चागुम्बु फेला परेसङ्गै अनुसन्धान अघि बाढ्यो

बोली खबर   २०८२-०२-१९

पाल्पा —रिमिघा लेकमा नयाँ चिज फेला परेसङ्गै गाउँपालिकाले अनुसन्धानअघि बढाएको छ । रम्भा गाउँपालिका–३, पिपलडाँडाको रिमिघा पोसपाखा सामुदायिक वन क्षेत्रको खोल्सी तथा चिस्यान क्षेत्रमा यार्चागुम्बा जस्तै देखिने ढुसी प्रजातिका वनस्पति भेटिएपछि प्रयोगशालामा पठाउने तयारी गरिएको हो ।

१ हजार ८ सय मिटरको उचाइमा रहेको रिमिघा लेकमा सुन्तला खेती गर्ने तयारी हुदै गर्दा यस्तो बस्तु भेटिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनु भयो । पालिका अध्यक्ष भण्डारीका अनुसार रिमिघा लेकमा झाडी सरसफाइ गरेर सामुदायिक वन क्षेत्रमा सुन्तलाको बिरुवा लगाउने तयारी गर्दा खाल्डो खन्दै गर्दा ती भेटिएका थिए । ‘सुरुमा एक दुई वटा यार्चाजस्तै देखिने प्रजातिका वनस्पति र तल्लो भागमा किराजस्तो देखिएपछि सोधपुछ भएछ,’ उहाँले भन्नु भयो  । अब स्थानीयलाई संकलन गर्न र जंगल जानसमेत रोक लगाइएको बताउनु भएको छ  ।

डिभिजन वन कार्यालयले तत्काल वन कर्मचारीलाई खटाएर संकलन गरी तथ्य जाँचका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुर पठाइने डिभिजन वन प्रमुख नारायणदेव भट्टराईले जानकारी दिनु भएको छ । उहाँले प्रयोगशालामा नपठाइकन के हो ? भन्ने आधिकारिक थाहा हुन नसक्ने समेत बताउनु भएको छ । ‘हेर्दा उस्तै देखिएको छ, मैले पनि फोटोमा हेरेँ,’ उहाँले भन्नू भयो, ‘तर प्रयोगशालाको रिपोर्ट नआइकन आधिकारिक के रहेछ भन्न सकिँदैन ।’