रामपुरमा लैंगिक हिंसा नियन्त्रण सञ्जाल समितिको अभिमुखीकरण गोष्ठी सम्पन्न

बोली खबर   २०८२-०२-२१

पाल्पा, रामपुर — नगर स्तरीय लैंगिक हिंसा नियन्त्रण सञ्जालको अभिमुखीकरण गोष्ठी रामपुरमा सम्पन्न भएको छ। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत महिला सशक्तिकरण परियोजनाको आयोजनामा कार्यक्रम गरिएको हो।

गोष्ठी इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक राम बहादुर नेपालीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रमका क्रममा परियोजनाकी टिम लिडर सुलोचना श्रेष्ठले समुदायमा भइरहेको लैंगिक हिंसा अन्त्यका लागि सञ्जालको भूमिका र हस्तक्षेपका विधिबारे सहजीकरण गर्नुभयो।

त्यसैगरी, मन्त्रालयकी महिला विकास अधिकृत रञ्जना पोखरेलले समिति गठन प्रक्रिया, कार्यक्षेत्र, कर्तव्य र अधिकारबारे जानकारी दिइन्। गोष्ठीमा रामपुरमा रहेका लैंगिक हिंसाका घटना, तिनका कारण, प्रकार, कानुनी सजाय र सामाजिक प्रभावबारे विस्तृत जानकारी दिँदै प्रहरी निरीक्षक नेपालीले चालु आर्थिक वर्षको तथ्यांक प्रस्तुत गरे।

रामपुर नगरपालिकाकी उप–प्रमुख बालकुमारी थापाले पीडितहरूका लागि न्यायिक समिति सहज पहुँचमा रहेको र दर्ता गरिएका मुद्दाहरूमा छिटो निर्णय हुँदै आएको बताइन्।

२५ जना सहभागी रहेको गोष्ठीले इलाका प्रहरी कार्यालयका प्रमुखको संयोजकत्वमा नगर स्तरीय लैंगिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन गरेको छ। समितिमा प्रहरी कार्यालयका एक कर्मचारी सदस्य सचिवका रूपमा पदेन रहने छन्।

साथै, समितिमा स्वास्थ्य संस्था, नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा, वडा स्तरीय सञ्जाल प्रतिनिधि, नागरिक समाज, महिला तथा मानव अधिकारकर्मी, मेलमिलापकर्ता, शिक्षक, युवा क्लब, न्याय क्षेत्र, सहकारी संस्था, हिंसा निगरानी समूह र प्रहरी साझेदारी समितिका प्रतिनिधिहरूको समेत सहभागिता रहेको छ।

समितिले आगामी आर्थिक वर्षका लागि कार्ययोजना निर्माण गरी समुदायमा हिंसा विरुद्धका विभिन्न सचेतना कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।