सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सम्पन्न

बोली खवर   २०८२-०२-२४

पाल्पा — शान्तिपूर्ण, सुरक्षित र सहिष्णु समाज निर्माणमा प्रहरी र समुदायबीचको सहकार्यलाई सुदृढ बनाउने उद्देश्यसहित पाल्पामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम प्रभातफेरी र कोण सभासहित सम्पन्न भएको थियो।

पाल्पा मेट्रोसिटी हस्पिटल, होराइजन डेन्टल क्लिनिक, रामतुलसी नमूना माध्यमिक विद्यालय लगायत विभिन्न संघसंस्थाहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा समुदायमा सुरक्षाको अनुभूति दिलाउने विषयमा गहन छलफल भएको थियो।

कोण सभामा प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले प्रमुख अतिथी रहनु भएको हो । प्रमुख अतिथी श्रेष्ठले बोल्दै
“सुरक्षित समाज निर्माण प्रहरीको मात्र दायित्व होइन, यसमा हामी सबैको सहकार्य र सहभागिता जरुरी छ। सामुदायिक प्रहरी साझेदारी कार्यक्रमले नागरिक र सुरक्षाकर्मीबीचको सम्बन्धलाई अझ बलियो बनाउँछ”भन्नू भएको छ ।

कार्यक्रमका विशेष वक्ता प्रहरी निरीक्षक राम बहादुर नेपालीले महिला हिंसा, आत्महत्या, लागूपदार्थ दुरुपयोग लगायतका विषयमा कानुनी जानकारी प्रस्तुत गर्दै भन्नुभयो,
“नेपालको संविधान र लागू कानुनहरूले महिला हिंसा, घरेलु हिंसा, जबरजस्ती करणी, यौन दुव्र्यवहार लगायतका अपराधलाई गम्भीर रूपमा लिएको छ। घरेलु हिंसा (अपराध तथा सजाय) ऐन, २०६६ अनुसार पीडित महिलाले नजिकको प्रहरी कार्यालयमा उजुरी दिन सक्नेछन् र पीडकलाई कानुनी कारबाही गरिन्छ।”

उहाँले आत्महत्याका घटनाहरू पछाडि लुकेका मानसिक स्वास्थ्यका समस्याहरू, पारिवारिक दबाब र सामाजिक उपेक्षा जस्ता पक्षहरूबारे चर्चा गर्दै समयमै परामर्श र सहयोग आवश्यक रहेको औँल्याउनुभयो। साथै, लागूपदार्थ सम्बन्धी (नियन्त्रण) ऐन, २०३३ को व्यवस्था उल्लेख गर्दै लागू पदार्थको ओसारपसार, सेवन वा व्यापारमा संलग्न हुनेहरूलाई पाँच वर्षदेखि आजीवनसम्मको कैद सजाय हुन सक्ने जानकारी दिनुभयो।

“प्रहरीलाई सधैं सजग राख्न र समाजलाई सुरक्षाको अनुभूति गराउन समुदायको सहयोग र सूचनाको आदानप्रदान अनिवार्य छ। अपराध नियन्त्रणको मूल चाबी सचेत नागरिक हुन्,” प्रहरी निरीक्षक नेपालीले थप बताउनुभयो।

कार्यक्रमको सञ्चालन प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठले गर्नुभएको थियो।