एकल महिलाहरूका लागि नेतृत्व विकास तालिम सम्पन्न

बोली खबर   २०८२-०२-२५

पाल्पा, मातृशक्ति फाउन्डेसनद्वारा आयोजना गरिएको “एकल महिलाहरूको लागि नेतृत्व विकास तालिम” शनिबार एक विशेष कार्यक्रमका साथ सम्पन्न गरिएको छ। तालिम कार्यक्रम फाउन्डेसनकी अध्यक्ष लक्ष्मी ढकालको अध्यक्षतामा तथा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको प्रमुख आतिथ्यमा सम्पन्न भयो।प्रमुख अतिथि बालकुमारी थापाले कार्यक्रमप्रति प्रशंसा गर्दै
“यस्ता तालिमले महिलाहरूमा आत्मविश्वास बढाउँछ र उनीहरूलाई अगाडि बढ्न प्रेरणा दिन्छ। एकल महिलाहरू अब लुक्ने होइन, अघि बढ्ने समय हो”भन्नू भएको छ ।

उक्त तालिममा रामपुर नगरपालिकाको ५०,००० रुपैयाँ आर्थिक सहयोग रहेको थियो। नगरपालिकाले महिला सशक्तिकरण र नेतृत्व विकासमा टेवा पुर्‍याउने उद्देश्यले यस्तो कार्यक्रमलाई सहयोग पुर्‍याएको हो।

कार्यक्रमको प्रारम्भमा उपाध्यक्ष सरस्वती डोटेलले स्वागत गर्दै “एकल महिलाहरू समाजको संवेदनशील हिस्सा हुन्। यस्तो तालिमले उनीहरूलाई आत्मविश्वासी र सक्षम बनाउँछ” भन्नू भएको छ ।

शुभकामना मन्तव्य राख्दै प्रहरी प्रमुख रामबहादुर नेपालीले भने,“महिला सशक्तिकरणमा प्रहरीले सदैव सकारात्मक सहयोग गर्दै आएको छ। समाज रूपान्तरणमा महिलाहरूको अग्रणी भूमिका हुनुपर्छ।”

कार्यक्रममा सहजीकरण नेपाल बार एसोसिएसन, बार इकाइ पाल्पाका सचिव तथा अधिवक्ता शान्ति बस्यालले गर्नु भएको हो । प्रशिक्षण सत्रमा नेतृत्व सीप, कानुनी अधिकार, आत्मनिर्भरता, समूह समन्वय जस्ता महत्वपूर्ण विषयहरूमा जानकारी दिइएको थियो।

प्रशिक्षक बस्यालले “एकल महिला भनेर समाजमा हेपिने चलन हटाउन हामी सबै मिलेर सचेत बन्नुपर्छ। कानुनी हिसाबले उनीहरू सक्षम छन्, अब चाहिने आत्मबल र नेतृत्व क्षमता हो” उहाँले भन्नू भएको छ

कार्यक्रममा विभिन्न वडाबाट सहभागी ७० जना एकल महिलाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले तालिम उपयोगी र जीवनमा परिवर्तन ल्याउने खालको भएको प्रतिक्रिया दिएका छन्।