पाल्पा – रामपुर नगरपालिकाको आयोजनामा आयोजित जेष्ठ नागरिक नगर भेला, कानुनी सचेतना, निःशुल्क स्वास्थ्य परीक्षण, तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
रामघाटमा भएको कार्यक्रममा नगर क्षेत्रका वडा नं. १ देखि १० सम्मबाट करिब २०० जना जेष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा जेष्ठ नागरिकका अधिकार, उनीहरूलाई हुने सामाजिक हेला विरुद्धको चेतना, स्वास्थ्य जाँच तथा उनीहरूप्रति सम्मान प्रकट गर्ने उद्देश्य रहेको आयोजकले बताउनु भएको छ ।
कार्यक्रममा स्वागत गर्दै नगर उपप्रमुख बालकुमारी थापाले “जेष्ठ नागरिकहरू हाम्रो समाजको मूल आधार हुन्। उहाँहरूले आर्जन गर्नुभएको अनुभव, त्याग र योगदानको कदर गर्नु हाम्रो कर्तव्य हो। उहाँहरूको सम्मान गर्नु भनेको समाजकै आत्मसम्मान जोगाउनु हो” भन्नू भएको छ
रामपुर नगरपालीका नगर प्रमुख रमण बहादुर थापाले कार्यक्रमको उद्घाटन गर्दै “रामपुर नगरपालिकाले जेष्ठ नागरिकलाई लक्षित सेवा र कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। अबदेखि जेष्ठ नागरिकको हक र सेवामा नियमितता, पारदर्शिता र कानुनी पहुँच सुनिश्चित गरिनेछ।”भन्नू भएको छ । उहाँले थप जानकारी दिँदै नगरपालिकाले प्रदान गर्दै आएका सुविधाहरूबारे उल्लेख गर्नुभयो । नगरपालिकाले हाल सम्म निःशुल्क स्वास्थ्य परीक्षण विशेष सामाजिक सुरक्षाभत्ता ,स्वास्थ्य बीमा सहुलियत,आवश्यकीय कानुनी परामर्श लगाएत दिइएको बताउनु भएको छ ।
कार्यक्रममा नगरपालिकाका योजना प्रमुख युबराज पन्थीले सहजीकरण गर्दै जेष्ठ नागरिक सम्बन्धी संविधान र कानुनका व्यवस्था बारेमा जानकारी दिनुभयो। उहाँले नेपालको संविधान २०७२ तथा जेष्ठ नागरिक ऐन २०६३ अनुसार जेष्ठ नागरिकको कानुनी अधिकारहरूका बारेमा जानकारी गराउनु हुँदै धारा 3: हरेक ६० वर्ष नाघेका नागरिकलाई जेष्ठ नागरिक मानिनेछ।धारा 4: राज्यले जेष्ठ नागरिकको सम्मान, सुरक्षा र सेवा सुनिश्चित गर्नुपर्नेछ।धारा 11: कुनै पनि जेष्ठ नागरिकलाई पारिवारिक हेला, तिरस्कार वा सम्पत्तिबाट बञ्चित गरिएमा कानुनी कारबाहीको व्यवस्था। धारा 17: जेष्ठ नागरिकले आफ्नो हक संरक्षण गर्न अदालत वा सम्बन्धित निकायमा उजुरी दिन सक्ने। बताउनु भएको छ । त्यस्तै गरि उजुरी दिन सकिने निकायहरूका बारेमा जानकारी गराउदै वडा कार्यालय (स्थानीय स्तरमा प्रारम्भिक उजुरी र मिलापत्र)हुने,नगरपालिका/नगर प्रमुख कार्यालय,जिल्ला प्रशासन कार्यालय (DAO),प्रहरी कार्यालय,निःशुल्क कानुनी सहायता केन्द्रहरू (बार एशोसिएसनसँग आवद्ध),महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गतको हेल्पलाइन जस्ता बिषयमा जानकारी गराउनु भएको थियो ।
योजना प्रमुखले “जेष्ठ नागरिकलाई घरभित्र हुने हेला, सम्पत्तिमा अधिकार खोसिने, वा तिरस्कार जस्ता क्रियाकलापविरुद्ध अब कानुनी रूपमा सचेत हुनु जरुरी छ। यदि यस्तो अवस्था आइपरेमा तत्काल उजुरी दिन सकिन्छ।”भन्नू भएको छ ।
कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता कपिल बहादुर खाण, र लक्ष्मीनारायण गुठी सञ्चालक समितिका अध्यक्ष बुद्धि प्रकाश रेग्मीले शुभकामना मन्तव्य राख्दै यस्ता कार्यक्रमले समाजमा जेष्ठ नागरिकप्रति सम्मान र संवेदना बढाउने विश्वास व्यक्त गर्नुभयो ।
पुजा परियारको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा सहभागी सबै जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण समेत गरिएको थियो।
कार्यक्रमको समापनमा सहभागी सबैजना जेष्ठ नागरिकलाई नगरपालिकाको तर्फबाट प्रशंसा पत्र र सम्मान सामग्री प्रदान गरिएको थियो।






