माथागढी गाउँपालिकाले १२८ जना किसानलाई हाते ट्याक्टर वितरण गर्‍यो

बोली खबर   २०८२-०२-२९

प्युठान, जेठ २७ – माथागढी गाउँपालिकाले गाउँपालिका भित्रका किसानहरूलाई कृषि यन्त्र प्रदान गरेको छ। स्थानीय तहको कृषि प्रवर्द्धन र आधुनिकिकरणलाई लक्षित गर्दै गाउँपालिकाले १ सय २८ जना किसानलाई हाते ट्याक्टर वितरण गरेको हो।

गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीको अध्यक्षतामा आयोजित विशेष कार्यक्रममा उक्त हाते ट्याक्टरहरू वितरण गरिएको थियो। अध्यक्ष चिदीले कृषि यान्त्रीकरणको माध्यमबाट उत्पादन वृद्धि र किसानको श्रमलाई सहज बनाउने उद्देश्यले हाते ट्याक्टर वितरण गरिएको जानकारी दिनु भयो।

“कृषि आधुनिकिकरण बिना गाउँको समृद्धि सम्भव छैन। हामी किसानका समस्या बुझेर यस्ता कार्यक्रम अघि बढाइरहेका छौं,” अध्यक्ष चिदीले भन्नुभयो।

किसानहरूले हाते ट्याक्टर पाएपछि कृषि कार्यमा सहजता हुने र उत्पादन लागत घट्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूले यस्ता सहयोगले कृषि क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने बताएका छन्।

माथागढी गाउँपालिकाले आगामी दिनमा पनि किसानमुखी कार्यक्रमलाई प्राथमिकतामा राख्ने जनाएको छ।