रामपुर, पाल्पा । रामपुर साहित्यिक प्रतिष्ठानले आफ्नो दशौँ वार्षिकोत्सव कविता वाचन कार्यक्रम गरी भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम रामपुर नगरपालिका–७, साउनेधारास्थित बालन घरमा आयोजित गरिएको थियो।
कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष मित्रलाल गौतमले गर्नुभएको थियो। उहाँले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले आर्थिक वर्षमा १ लाख २२ हजार १ सय २७ रुपैयाँ आम्दानी गरेको र ४२ हजार ४ सय ३ रुपैयाँ खर्च भएको जानकारी दिनुभयो।
शहीद बहुमुखी क्याम्पस रामपुरका प्रमुख मुरारी प्रसाद काफ्ले कार्यक्रमका प्रमुख अतिथि रहनु भएको थियो। प्रमुख अतिथि काफ्लेले साहित्य समाजको ऐना भएको र साहित्य बिना समाज अधूरो रहने धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “यस्ता कार्यक्रमले नयाँ पुस्तालाई साहित्य र संस्कृतितर्फ आकर्षित गर्ने मात्र होइन, उनीहरूको लुकेर रहेका प्रतिभालाई उजागर गर्न मद्दत गर्दछ। युवा पुस्ताले कलम समाउन सिक्नुपर्छ, किनभने आजको कलम नै भोलिको समाज परिवर्तनको मूल आधार हो।”
काफ्लेले रामपुर साहित्यिक प्रतिष्ठानले विगतदेखि गर्दै आएको साहित्यिक जागरण अभियानको खुलेर प्रशंसा गर्दै भविष्यमा अझ व्यापक स्तरमा यस्ता कार्यक्रम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले विद्यालयस्तरका विद्यार्थीहरूमा देखिएको प्रतिभा र आत्मविश्वासले भविष्यमा रामपुरलाई साहित्यिक नगरीका रूपमा स्थापित गर्ने विश्वास समेत व्यक्त गर्नुभयो।
वडा नं. ७ का वडा अध्यक्ष दोबराज तिवारीले शुभकामना व्यक्त गर्दै रामपुर साहित्यिक प्रतिष्ठानले कला र संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। वडा सचिव गीता पौडेल लम्सालले लुकेर रहेका प्रतिभाहरूलाई उजागर गर्ने यस्ता कार्यक्रमहरूमा सबै भाइबहिनीलाई सहभागी हुन अनुरोध गर्नुभयो।
कार्यक्रममा धर्मोदय दशावतार बालन सांस्कृतिक समूहका अध्यक्ष हरि प्रसाद खनाल, रामपुर साहित्यिक प्रतिष्ठानका पूर्व अध्यक्ष बासुदेव ढकाल, प्रगतिशील लेखक संघ पाल्पाका अध्यक्ष राम प्रसाद गैरे, सेवा निवृत्त संघ नगर अध्यक्ष शेषकान्त भट्टराई, लुम्बिनी वाङ्मय साहित्यिक प्रतिष्ठानका जिल्ला अध्यक्ष कृष्ण कला भण्डारी, कालीगण्डकी संरक्षण अभियानका अभियन्ता कृष्ण प्रसाद पौडेल, नेपाल पत्रकार महासंघ जिल्ला उपाध्यक्ष बन्दना पोखरेल लगायतले आफ्ना विचार राख्नुभएको थियो।
कार्यक्रम रामपुर साहित्यिक प्रतिष्ठानका सचिव दीपक मणि अर्यालको स्वागत मन्तव्यबाट सुरु भएको थियो। कविता वाचन कार्यक्रममा रामपुर क्षेत्रका ६ वटा विद्यालयका ६ जना विद्यार्थीहरूले भाग लिएका थिए।
प्रतिस्पर्धामा पहिलो स्थान रामपुर अङ्ग्रेजी आवासीय माविकी शारदा श्रेष्ठले, दोस्रो स्थान जन विकास माविकी सिमा श्रेष्ठले र तेस्रो स्थान समिक्षा न्यौपानेले हासिल गर्नुभयो। कृति अधिकारीलाई सान्त्वना पुरस्कार तथा विद्या चापागाईं र थानेश्वर बस्याललाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रमले साहित्य र संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण सन्देश दिन सफल भएको सहभागिहरुले जनाएका छन्।






