पाल्पा
रामपुर नगरपालिका वडा नम्बर ७ का ११जना अपाङ्गता भएका नागरिकलाई ह्वीलचियर बितरण गरिएको छ । खुट्टाले हिड्न नसक्ने घिस्रीएर हिड्नु पर्ने वा परिवारको सहयोगमा रहेका ११ जनालाई वडा कार्यालयको बजेट र ओकेबाजेको सहयोगमा ह्वीलचियर प्रदान गरिएको छ । यस अघि ९ जनालाई बितरण गरीसकीएको थियो भने बिहिवार घरमै गएर २ हुइलचियर बितरण गरिएको छ ।
लक्षित समुदाय अन्तर्गत सहयोग सहकार्य र केही अपाङ्गताको सुझाब अनुरुप यसबर्ष वडाका यी अपाङ्गता भएकालाई ह्वीलचियर प्रदान गरिएको रामपुर नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष दोबराज तिवारीले जानकारी दिनुभयो । जापानीज नागरिक काजुमासा काकिमी ओकेबाजे र वडा अध्यक्ष तिवारीले अपाङ्गता नागरिकलाई भित्र बाहिर गर्न, बस्न सहज होस् भनेर ह्वीलचियर हस्तान्तरण गरिएको हो ।
ह्वीलचियर बितरण गर्दै काजुमासा काकिमी ओकेबाजेले आम नागरिक अझ शारीरिक रुपमा अशक्त भएर सहारा लिनुपर्ने व्यक्तिको दैनिकी सहज होस् भनेर ह्वीलचियर प्रदान गरेको बताउनुभयो । उहाँले व्यक्ति जन्मजात वा पछि कुनै न कुनै कारण अपाङ्गता हुन सक्ने भन्दै समस्यामा रहेका त्यस्ता नागरिकको सारथि बनेको जानकारी दिनुभयो ।
वडा अध्यक्ष दोबराज तिवारीले अपाङ्गताको दैनिकीमा आउने समस्या र सहजताका लागि वडाले आफ्ना वडाका नागरिकलाई ह्वीलचियर बितरण गरेको बताउनुभयो ।
वडा कार्यालयको ५० हजार र काजुमासा काकिमी ओकेबाजेको अन्य सहयोग गरि झण्डै १ लाख ३५ हजार खर्चमा ह्वीलचियर बितरण गरिएको हो ।


