रामपुर नगरपालिकामा नगर स्तरीय बाल भेला शुक्रबार सम्पन्न

बोली खबर   २०८२-०२-३२

पाल्पा, रामपुर नगरपालिकामा नगर स्तरीय बाल भेला शुक्रबार सम्पन्न भएको छ । बालमैत्री स्थानीय शासन अवलम्बन कार्यक्रम अन्तर्गत नगर बाल भेला सम्पन्न भएको हो ।

भेलालाई सम्बोधन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बालबालिकाको अधिकार सुनिश्चित गर्नका लागि नगरपालिका बालमैत्रीस्थानीय शासन लागु गर्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । बालबालिकाको अधिकारको पूर्ण प्रत्यभूति दिलाउन नगरपालिका प्रतिवद्ध भएर लागेको बताउँदै बालबालिकाको क्षेत्रमा बालबालिका संग राय संकलन गरेर अघि बढ्ने बताउनुभयो । बालभेलामा बालबालिकाले उठान गरेका सवालको विषयमा प्रस्ट पार्दै बालबालिकाको खेल प्रतिभा प्रस्फुटनका लागि अहिले भलिबल र फुटबल प्रशिक्षण सञ्चालन भैरहेको बताउनुभयो । आगामी दिनमा क्रिकेट लगाएतका अन्य खेलकुदको प्रशिक्षण संगै खेल पूर्वाधार निर्माणमा ध्यान दिने बताउनुभयो । बालप्रतिभाको उजागर गर्न तथा बालबालिकाको संरक्षणमा नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापाले रामपुर नगरपालिकालाई कस्तो बनाउने भन्ने कुरा बालबालिकाको क्षेत्रमा लगानी महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले बालबालिकाको संरक्षण संगै अधिकारको पूर्ण प्रत्याभूति दिलाएर अघि बढ्न नगरपालिकाले बालमैत्री स्थानीय शासन लागु गर्न प्रयास गरेको बताउनुभयो । नगरपालिकाले २०८३ मंसिर ५ गते भित्र बालमैत्री स्थानीय शासन लागु गर्ने लक्ष्यका साथ आवश्यक कार्यक्रम अघि बढाएको बताउनुभयो ।
रामपुर ६ का वडा अध्यक्ष दिवाकर देवकोटाले सभ्य र समृद्ध समाज निर्माणमा बालबालिकाको महत्वपूर्ण भुमिका रहने बताउनुभयो ।

कार्यक्रममा रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले बालबालिकाहरुको सक्रिय सहभागीताको लागि बालसंजालले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।
भेलामा वडा स्तरीय बाल सञ्जालका पदाधिकारीहरु वडा नं. १ का अध्यक्ष कुसुम थापा, वडा नं. २ का अध्यक्ष विपना नेपाली, वडा नं. ३ का अध्यक्ष आयुस्मा खनाल, वडा नं. ४ का सचिव सिमरन केसी, वडा नं. ५ का अध्यक्ष शारदा प्रसाद श्रेष्ठ, वडा नं. ६ का सहसचिव अंगित खनाल, वडा नं. ८ का अध्यक्ष कृष्ण गौतम, वडा नं. ९ का अध्यक्ष मुना अस्लामी र वडा नं. १० विवेक गाहाले बालबालिको समस्या, नगरपालिका बाटको अपेक्षा संगै सुझाव राख्नु भएको थियो ।

भेलाले अवसरमा नगरपालिकाले आपतकालीन बालउद्धार कोष मार्फत विभिन्न समस्या बाट पिडित बालबालिकाको पोषणयुक्त आहार तथा शैक्षिक व्यवस्थापनका लागि नगर भित्रका ६ जना बालबालिकालाई राहत स्वरुप ७/७ हजार रुपैयाँ सहयोग गरेको छ । त्यस्तै नगरपालिकाले भेलाको अवसरमा पृथ्वी नारायण क्याम्पस पोखरामा विएड तेस्रो वर्षमा अध्ययनरत रामपुर ६ का दृष्टिविहिन विद्यार्थी विपना खनाललाई अध्ययनमा थप सहजता प्रदान तथा उत्प्रेरणा प्रदान गर्न एक थान ल्यापटप समेत हस्तान्तरण गरेको छ । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापाले ल्याप्टप हस्तान्तरण गर्नु भएको हो ।

ल्यापटप ग्रहण गर्नु हुँदै उहाँले ब्रेललिपीको माध्यम बाट मात्र अध्ययन गर्न कठिनाई भैरहेको सन्दर्भमा ल्याप्टपको माध्यम बाट थप कुरा सिक्न सहज हुने बताउनुभयो । अपाङ्गता भए पनि खुल्ला प्रतिस्पर्धा बाटै सरकारी सेवामा प्रवेश गर्ने लक्ष्य रहेको बताउँदै नगरपालिकाको साथ र सहयोगको लागि आभार व्यक्त गर्नुभयो । साथै वडा स्तरिय बाल सञ्जालका पदाधिकारीहरुलाई पनि सम्मान गरिएको थियो ।
सोही भेलाबाट नगर स्तरीय बाल सन्जाल गठन गरिएको छ ।१० वटै वडामा गठन भएको वडा स्तरीय बाल संजालको पदाधिकारीहरुको उपस्थितिमा भएको भेलाले सारदा प्रसाद श्रेष्ठको अध्यक्षतामा नगर बाल सञ्जाल गठन गरेको छ । दरैठाँटी माविको सभाहल रामपुर ५ विजयपुरमा भएको भेलाले श्रेष्ठको नेतृत्वमा २१ सदस्य बाल संजाल सर्वसम्मत रुपमा गठन गरेको हो । भेलाले उपाध्यक्षमा विपना नेपाली, अंगिता खनाल, सचिवमा सिमरन के.सी., कृष्ण गौतम, सहसचिवमा अञ्जली आचार्य र कोषाध्यक्षमा मुना अस्लामीलाई चयन गरेको छ ।

समितिको सदस्यहरुमा सलिना थापा, आइस्मा थापा, रन्जु राना, प्रिन्स कुँवर, सुवास पोखरेल, अनुप ओस्ती, प्रसान्त बस्याल, आबस श्रेष्ठ, सनराइज बास्तोला, सुजता नेपाली, शाहिद शेख, सुहाना भट्टराई, सन्ध्या वि.क. र रिजन खाँणलाई चयन गरेको छ ।

भेलाको अवसरमा इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख राम बहादुर नेपालीले बालविवाह, लागुअौषध दुर्व्यसनी र आत्महत्याको न्यूनिकरणका लागि बालबालिकाको भुमिको विषयमा सचेतना प्रदान गर्नु भएको थियो ।दरैठाँटी माविको सभाहलमा भएको कार्यक्रम रामपुर महिला तथा बालबालिका शाखाका प्रमुख पुजा परियारको सञ्चालनमा भएको थियो ।