जलबायु उत्थानशीलता र पारिस्थितिकीय सुदृढीकरणका लागि कृषक पाठशाला सम्पन्न

बोली खबर   २०८२-०२-३२

रामपुर, पाल्पा । जलबायु उत्थानशिल समुदाय र पारिस्थितिकीय प्रणाली स्थापनाको उद्देश्यसहित सञ्चालन गरिएको कृषक पाठशाला कार्यक्रम शनिबार सम्पन्न भएको छ।

राम्चे सामुदायिक वन व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद बस्यालको अध्यक्षता र सामुदायिक वन महासंघ पाल्पाका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

प्रमुख अतिथि श्रेष्ठले वनको दीगो व्यवस्थापन, वन संरक्षण र जनजीविकासँगको अन्तरसम्बन्धबारे महत्वपूर्ण धारणा राख्दै भन्नुभयो, “वन हाम्रो जीवनको आधार हो, यसको संरक्षण र दिगोपन सुनिश्चित नगरी हामी जलबायु परिवर्तनसँग लड्न सक्दैनौं। सामुदायिक वन उपभोक्ताहरूले वनको दिगो व्यवस्थापनसँगै आफ्नो जीविकोपार्जन सुधार्न सक्ने अवसर पनि यसले दिन्छ। यसका लागि निरन्तर सिकाइ र व्यवहारमा ल्याउन आवश्यक छ।”

कार्यक्रममा सामुदायिक वन महासंघ रामपुर नगर अध्यक्ष एवं प्रशिक्षक बिन्दु श्रेष्ठले भन्नुभयो, “कृषक पाठशालाबाट सिकाइएका जलबायु उत्थानशिल अभ्यासहरू कृषकहरूले आफ्नो जीवनशैलीमा प्रयोग गर्न सके जलवायु परिवर्तनको असर घटाउन सकिन्छ। यस तालिमले सहभागीहरूलाई व्यावहारिक ज्ञान र सीप प्रदान गरेको छ, जसको प्रभाव दीर्घकालीन रूपमा देखिनेछ।”

नेपाल पत्रकार महासंघ पाल्पा शाखाका उपाध्यक्ष वन्दना पोखरेल, सामुदायिक वन उपभोक्ता महासंघ रामपुर नगर सदस्य इश्वरी खनाललगायतले आफ्ना भनाइ राख्नु भएको थियो। कार्यक्रमको स्वागत उपाध्यक्ष खड्ग प्रसाद श्रेष्ठले गर्नुभएको थियो।

१८ हप्तासम्म सञ्चालनमा रहेको सो कार्यक्रम बैशाख ७ गतेदेखि सुरु भई जेठ ३१ गते सम्पन्न भएको हो। कार्यक्रममा १२ महिला र ८ पुरुष गरी जम्मा २० जना कृषक सहभागी थिए। सहभागीहरूले आफ्ना अनुभव र सिकाइहरू कार्यक्रमको अन्तिम दिन साझा गरेका थिए।

गण्डकी जलधार जलबायु उत्थानशिल आयोजनाको कार्यक्रम र सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ पाल्पाको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रमको संचालन उपसचिव जितबहादुर थापाले गर्नु भएको थियो ।