गल्धा सामाजिक उद्यमी सहकारीबाट तीन वर्षदेखि अदुवा व्यवसाय १४,५६० के.जि. अदुवा (चाना) पठाइयो

बोली खबर   २०८२-०३-०१

पाल्पा, निस्दी गाउँपालिका । गल्धा सामाजिक उद्यमी सहकारी संस्था लिमिटेडले तीन वर्षदेखि सञ्चालन गर्दै आएको अदुवा प्रशोधन तथा निर्यात कार्यक्रम अन्तर्गत हालै १४,५६० के.जि. अदुवा (चाना) बाहिरी बजारमा पठाएको छ। सहकारीका व्यवस्थापक दिल माया सारुले अदुवाको चाना पठाइएको जानकारी दिनु भएको हो।

अदुवा प्रशोधन र निर्यातको कार्यक्रम सन् २०२० (वि.सं. २०७७) मा सहकारी र निस्दी गाउँपालिकाको संयुक्त लगानीमा सुरु भएको हो। सुरुवाती चरणमा सहकारीले अदुवा प्रशोधन केन्द्रको भवन निर्माण गरी स्थानीय किसानलाई अदुवा खेतीतर्फ आकर्षित गरेको थियो।

२०७९ साल फागुनमा पूर्ण रूपमा सञ्चालनमा आएको प्रशोधन केन्द्रले अदुवा संकलन, चाना उत्पादन र निर्यातलाई निरन्तरता दिँदै आएको छ। सहकारीले किसानसँग प्रत्यक्ष सम्झौता गरी अदुवा खरिद गर्दै आएको छ। पछिल्ला तीन वर्षमा सहकारीले करिब ७० टनभन्दा बढी अदुवा प्रशोधन गरी बजारमा पठाइसकेको छ।

सहकारीले सोलार ड्रायर प्रविधि मार्फत अदुवा सुकाउने र चाना उत्पादन गर्ने काम गरिरहेको छ, जसले गुणस्तरीय उत्पादन सुनिश्चित गरेको छ। यसले किसानलाई राम्रो मूल्य प्राप्त गर्ने वातावरण बनाइदिएको छ भने अन्तर्राष्ट्रिय बजारमा समेत निस्दी गाउँपालिका अदुवाको माग बढ्दै गएको छ।

यसअघि पनि गल्धा सहकारीले पहिलो पटक २०८१ माघमा करिब ९,८०० के.जि. काँचो अदुवा युरोप निर्यात गरेको थियो। अहिले भने चाना (सुकाइएको अदुवा) निर्यात गर्न थालिएको छ।

व्यवस्थापक सारुका अनुसार, “स्थानीय किसानहरूलाई व्यावसायिक कृषि तर्फ प्रोत्साहित गर्न र बजार सुनिश्चितता दिन सहकारी निरन्तर क्रियाशील छ। यस कार्यक्रमले निस्दी गाउँपालिकाको आर्थिक समृद्धिमा उल्लेख्य योगदान पुर्‍याइरहेको छ।”

तीन वर्षदेखि निरन्तर चलिरहेको यस कार्यक्रमलाई निस्दी गाउँपालिका, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, र हेफर इन्टरनेशनलको समेत सहयोग रहेको छ।

सहकारीमार्फत हाल ४० हेक्टर क्षेत्रमा अदुवा खेती विस्तार भइरहेको छ भने आगामी वर्षहरूमा अझ बढी उत्पादन र निर्यात गर्ने योजना रहेको बताइएको छ।