
पाल्पा, २०८२ असार १
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ नेपाल सेपाक ताक्रो महासंघको आयोजनामा र श्री रामतुलसी माध्यमिक विद्यालयको संयोजनमा कालीगण्डकी उपत्यकामा पहिलो पटक सेपाक ताक्रो (Sepak Takraw) खेलको विधि परिचय कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा कालीगण्डकी उपत्यकाभित्रका विभिन्न विद्यालयका विद्यार्थी, गुरुजन तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नेपालीहरूको शारीरिक बनावट एथलेटिक्स मैत्री भएकाले सेपाक ताक्रो खेल नेपालमा उज्ज्वल सम्भावना बोकेको खेलको रूपमा हेरिएको छ।
कार्यक्रममा नेपाल सेपाक ताक्रो महासंघका राष्ट्रिय अध्यक्ष नेत्र प्रसाद गुरुङ, राष्ट्रिय उपाध्यक्ष गङ्गा गुरुङ, राष्ट्रिय क्याप्टेन रोशन तामाङ, राष्ट्रिय खेलाडी सुमित्रा डङ्गोल, लुम्बिनी प्रदेश अध्यक्ष लोक मणि आत्रेय र बिपि प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सन्दिप राना को विशेष उपस्थितिले कार्यक्रमलाई अझै आकर्षक बनायो।
राष्ट्रिय क्याप्टेन रोशन तामाङ, सुमित्रा डङ्गोल, लोक मणि आत्रेय र सन्दिप राना, रामपुर नगर खेलकुद बिकास समितिका अध्यक्ष कमल सेनले शुभकामना मन्तव्य दिँदै सेपाक ताक्रो खेल नेपालका लागि नयाँ अवसर भएको र यस खेलले विशेषगरी ग्रामीण भेगका युवाहरूलाई सकारात्मक बाटोमा अग्रसर गराउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे। उनीहरूले सेपाक ताक्रो खेलमा कालीगण्डकी उपत्यकाका युवाहरूले भविष्यमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा देशको गौरव बढाउने उल्लेख गरे।
बिपि प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सन्दिप रानाले सेपाक ताक्रो जस्ता खेलहरू विद्यालयस्तरबाटै सुरु गर्नु अत्यन्त प्रशंसनीय कदम भएको भन्दै यस किसिमका कार्यक्रमहरू युवाहरूको शारीरिक र मानसिक विकासका लागि प्रेरणादायी हुने बताए। उहाँले खेलकुदले मात्र देशलाई स्वस्थ र सबल बनाउन सक्ने भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नु भएको छ।
कार्यक्रममा वक्ताहरूले ग्रामीण युवालाई मानसिक र शारीरिक रूपमा बलियो बनाउने, दुर्व्यसनबाट टाढा राख्ने र निराशावादबाट उत्साहित जीवनशैलीतर्फ उन्मुख गराउने सेपाक ताक्रो खेलको प्रभावकारी भूमिका बारे जोड दिनु भएको छ।
नेपाल सेपाक ताक्रो महासंघले आगामी दिनमा विद्यालयस्तरबाट खेल विस्तार गर्दै देशव्यापी रूपमा सेपाक ताक्रो लोकप्रिय बनाउन विशेष कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। कालीगण्डकी उपत्यकाबाट सुरु भएको यस अभियानले नेपाललाई सेपाक ताक्रो खेलमा नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
