पूर्वखोला गाउँपालिका, असार १ –
पूर्वखोला गाउँपालिका अन्तर्गत रिङ्नेरह स्वास्थ्य चौकीमा आज विशेष पोषण अभिमुखिकरण तथा लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमले विशेष गरी सुनौलो हजार दिनका मातालाई पोषणसम्बन्धी जानकारी र लेखाजोखा सम्बन्धी अभिमुखिकरणमा केन्द्रित थियो।
कार्यक्रमको अध्यक्षता स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य बासुदेव न्यौपानेले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा स्वास्थ्य शाखा प्रमुख मोहन ढकाल उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा २४ पटक वृद्धि अनुगमनमा सहभागी भएका बालबालिकाका अभिभावकहरूलाई प्रोत्साहन स्वरूप पुरस्कार वितरण गरिएको थियो।
स्वास्थ्य चौकी प्रमुख राज आचार्यले कार्यक्रम सञ्चालनमा सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा स्थानीय महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोहन ढकालले शिशुहरूलाई स्वस्थ र कुपोषणमुक्त बनाउने अभियानमा आमा स्वयं सचेत र सक्रिय हुन जरुरी रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “सुनौलो हजार दिन अत्यन्त संवेदनशील समय हो। यस अवधिमा शिशुको उचित स्याहार, नियमित खोप, पोषणयुक्त आहार र निरन्तर वृद्धि अनुगमन अनिवार्य छ। हामी सबैले मिलेर कुपोषण अन्त्य गर्न सक्नु पर्छ।”
कार्यक्रमले मातृ–शिशु स्वास्थ्य र पोषणको क्षेत्रमा समुदायमा सकारात्मक सन्देश फैलाएको आयोजकले जनाएका छन्।



