निस्दी डमरामा अस्थायी प्रहरी पोष्ट स्थापना, अवैध गतिविधि रोक्ने विश्वास

बोली खबर   २०८२-०३-०२

पाल्पा । निस्दी गाउँपालिका वडा नम्बर १ डमरामा लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको सिमानामा आज एक कार्यक्रमका बीच अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ। कार्यक्रमको अध्यक्षता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले गर्नु भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी (सिडिओ) तोया नारायण सुवेदीले प्रहरी र जनता बीचको सम्बन्ध अझ सशक्त बनाउनुपर्नेमा जोड दिनु भयो। उहाँले “प्रहरी जनताको सेवा र सुरक्षाका लागि हो। प्रहरी र जनताको सम्बन्ध विश्वासमा आधारित हुनुपर्छ। प्रहरीको मुख्य काम जनताको सेवा गर्नु, शान्ति सुरक्षाको वातावरण बनाउनु र कानुनको पालनामा सहयोग गर्नु हो,” भन्नु भयो। सिडिओ सुवेदीले प्रहरीलाई आफ्नो कर्तव्य र अधिकारको सीमाभित्र रही, कर्तव्यपरायणता, इमानदारी र निष्पक्ष ढंगले सेवा प्रवाह गर्नुपर्ने सुझाव दिनु भयो।

कार्यक्रममा अध्यक्ष उपरीक्षक पवन कुमार भट्टराईले प्रहरी पोष्ट स्थापनाले स्थानीय क्षेत्रको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने विश्वास व्यक्त गर्नु भयो। उहाँले “जनताको भरोसा जित्दै, कानुनी दायराभित्र रही, इमानदारीपूर्वक सेवा गर्ने हाम्रो मूल उद्देश्य हो,” भन्दै अवैध क्रियाकलाप र आपराधिक गतिविधि नियन्त्रणमा प्रहरी सधैं गम्भीर रहने बताउनु भयो।

निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले प्रहरी पोष्ट स्थापनाले जनताको दीर्घकालीन अपेक्षा पुरा हुने विश्वास व्यक्त गर्दै भन्नु भयो, “जनताले स-साना घटना हुँदा प्रहरीको समयमै उपस्थिति नहुनु, कालीगण्डकी नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन हुनु र सीमावर्ती क्षेत्रमा चोरी पैठारी तथा अवैध कारोबार सञ्चालन हुनु मुख्य समस्या थियो। अब प्रहरी पोष्ट स्थापनासँगै यस्ता गतिविधि नियन्त्रण हुने हामी सबैको आशा र विश्वास छ।” उहाँले प्रहरीलाई आवश्यक सामग्री र निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो। साथै, अध्यक्ष सारुले दुई पाङ्ग्रे सवारी साधनको चाबी प्रहरीलाई हस्तान्तरण गर्नु भएको छ।

वक्ताहरुले निस्दी गाउँपालिकाको डमरामा लुम्बिनी र गण्डकी प्रदेशको सिमानामा स्थापना गरिएको यस प्रहरी चौकीले कालीगण्डकी राजमार्गमा भइरहने सवारी दुर्घटना, कालीगण्डकी नदीमा भइरहेको अवैध नदीजन्य पदार्थको उत्खनन, चोरी पैठारी, अवैध कारोबार र लागुऔषध ओसारपसार नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले आगामी पालिकाको बजेटमा प्रहरी पोष्टलाई प्राथमिकतामा राखिने जानकारी दिनु भयो।

कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष यम बहादुर रानाले स्वागत मन्तव्य राख्नु भएको थियो। शुभकामना दिने व्यक्तिहरुमा पूर्व वडा अध्यक्ष पुर्ण बहादुर खाण र नेपाल पत्रकार महासंघ पाल्पा शाखाका उपाध्यक्ष बन्दना पोखरेलले आफ्ना भनाइ राख्नु भएको थियो । कार्यक्रमको संचालन प्रहरी सहायक निरीक्षक हुमकला राना मगरले गर्नु भएको हो ।

उक्त अस्थायी प्रहरी पोष्टमा प्रारम्भिक चरणमा ६ जना प्रहरी जवान रहने व्यवस्था गरिएको छ।