अगुवा कृषकहरुलाई कृषि सामाग्री ठेला गाडा वितरण

बोली खबर   २०८२-०३-०३


पाल्पाा । रामपुर नगरपालिका वडा नं. ६ का अगुवा कृषकहरूलाई कृषि सामाग्रीका रूपमा ठेला गाडा वितरण गरिएको छ। रामपुर नगरपालिकाले स्वीकृत “कृषि प्रवर्द्धन तथा कृषक सम्मान कार्यक्रम” अन्तर्गत कृषकहरूको दैनिक कृषि कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले ठेला गाडा वितरण गरेको हो।

कार्यक्रममा नगर प्रमुख रमण बहादुर थापाले साना अनुदानमा मात्र सीमित नभई अब विउ–विजन उत्पादन र स्वरोजगार सिर्जना गर्ने कार्यक्रमहरू प्राथमिकतामा राखिने बताए। उहाँले भन्नु भयो, “अब नगरपालिकाले कृषकलाई उत्पादनशील र दीर्घकालीन फाइदा दिने कार्यक्रमतर्फ अघि बढ्नेछ। कृषि क्षेत्रमा स्वरोजगार र व्यावसायिकता विकास गर्न नगरपालिकाले एक वडा, एक उत्पादन कार्यक्रमलाई अझ सशक्त रुपमा कार्यान्वयन गर्ने छ।”
उहाँले थप्नुभयो, “नगरपालिकाले कृषकका लागि सहुलियतपूर्ण ऋण र व्याज अनुदान कार्यक्रम ल्याएको छ। कृषकहरूले यसमा सहभागी भई आत्मनिर्भर बन्नु पर्नेछ। अब कृषि विकासका लागि सशक्त सहकार्य अपरिहार्य छ।”

विजयपुर कृषि सहकारी संस्था लिमिटेडको समन्वयमा विजयपुरस्थित कार्यालयमा आयोजित कार्यक्रममा वडा नं. ६ का ७० जना अगुवा कृषकहरूलाई कृषि उत्पादन, मल, विउ, दान, घाँस, पराल ओसार–पसारमा सजिलो हुने गरी ठेला गाडा वितरण गरिएको हो। कार्यक्रममा विजयपुर कृषि सहकारीका अध्यक्ष सूर्य प्रसाद रेग्मीले वडा कार्यालय र सहकारीको सहकार्यलाई सकारात्मक भन्दै, “वडा कार्यालय र नगरपालिकासँग सहकार्य गर्दै विउ आलु पकेट क्षेत्रका रूपमा कृषकलाई प्रोत्साहन गर्न तयार छौं,” भन्नुभयो।

कार्यक्रम वडा अध्यक्ष दिवाकर देवकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो। वडा सदस्य शारदा आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन वडा सचिव महेश प्रसाद भट्टराईले गर्नुभएको थियो।