पाल्पा । लुम्बिनी प्रदेश सरकारका माननीय स्वास्थ्य मन्त्री खेम बहादुर सारुले आज निस्दी गाउँपालिका वडा नं. ७ स्थित ज्यामीरे स्वास्थ्य चौकीको उद्घाटन गर्नुभएको छ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री सारुले स्वास्थ्य चौकी उद्घाटन गर्दै ग्रामिण क्षेत्रमा नागरिकहरुले सहज र गुणस्तरिय स्वास्थ्य सेवा पाउने वातावरण विस्तारै तयार हुँदै गएको बताउनुभयो। उहाँले भन्नुभयो, “प्रदेश सरकारले नागरिकलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा पुर्याउने लक्ष्यका साथ स्थानीय तहसँग सहकार्य गर्दै विभिन्न स्वास्थ्य पूर्वाधार निर्माण र सेवा विस्तारमा जोड दिइरहेको छ।”
मन्त्री सारुले स्वास्थ्य चौकीको सुदृढीकरणका लागि आवश्यक सहयोग र स्रोतसाधनको व्यवस्थापनमा प्रदेश सरकारले प्राथमिकता दिने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले ग्रामिण क्षेत्रमा स्वास्थ्य चौकीको स्थापनाले वडाबासीलाई तत्काल सेवा उपलब्ध गराउने विश्वास व्यक्त गर्दै भन्नुभयो, “यस चौकीबाट वडाका बासिन्दाले प्राथमिक उपचार, मातृशिशु सेवा र स्वास्थ्य परामर्श सहजै पाउनेछन्। यो हाम्रो गाउँका लागि ठूलो उपलब्धि हो।”
उपाध्यक्ष तिरण कुमारी श्रेष्ठले पनि ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउने प्रदेश सरकार र स्थानीय तहको सहकार्यलाई सकारात्मक संकेत भन्दै धन्यवाद व्यक्त गर्नुभयो। प्रमुख प्रशासकीय अधिकृत मदन अर्याललगायत अन्य स्थानीय जनप्रतिनिधि तथा नागरिकहरुको पनि उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता वडा नं. ७ का वडा अध्यक्ष मुक्त बहादुर पाटाले गर्नुभएको थियो।विसं २०७३ असार २६ गते यस चौकीका लागि रु १ करोड ३९ लाखको लागतमा ठेक्का सम्झौता गरिएको थियो ।





