हिरासत कक्षमा पुस्तकालय स्थापना, समाज रूपान्तरणमा प्रहरीको उदाहरणीय पहल

बोली खबर   २०८२-०३-०३


पाल्पा । पाल्पाको रामपुरस्थित इलाका प्रहरी कार्यालयले हिरासत कक्षमै पुस्तकालय स्थापना गरी समाजमा सकारात्मक सोच फैलाउने उद्देश्यले उदाहरणीय र प्रशंसनीय पहल थालेको छ। समाज रूपान्तरणमा प्रहरीको भूमिकालाई फरक दृष्टिले उजागर गर्दै यस्तो प्रकारको सामाजिक कार्यले प्रहरीप्रति जनविश्वास बढाउने अपेक्षा गरिएको छ।

मंगलबार एक समारोहका बीच कालीगण्डकी फाउन्डेसन नेपालको सहयोगमा प्रहरी हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको हो। फाउन्डेसनले हिरासतमा रहेका व्यक्तिहरूको मानसिक स्वास्थ्य, आत्मचिन्तन र सुधारको बाटो पहिल्याउन १५० भन्दा बढी पुस्तकहरू हस्तान्तरण गरेको हो। ती पुस्तकहरू विभिन्न प्रेरणादायक, मनोवैज्ञानिक, सामाजिक सुधारका साथै साहित्यिक विधाका रहेका छन्।

कार्यक्रममा सहभागीहरूका अभिव्यक्ति
समारोहको अध्यक्षता इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक रामबहादुर नेपालीले गर्नुभएको थियो। प्रमुख अतिथि कालीगण्डकी फाउन्डेसन नेपालका सल्लाहकार सन्दीप रानाले पुस्तक हस्तान्तरण गर्दै भन्नुभयो,
“हिरासतमा रहेका व्यक्तिहरूलाई केवल सजाय दिने होइन, जीवन परिवर्तन गर्ने अवसर दिनु हाम्रो दायित्व हो। उनीहरूलाई सकारात्मक सोच, आत्मचिन्तन र ज्ञानमार्फत पुनः समाजमा फर्कन सक्ने वातावरण मिलाउनु पर्छ। प्रहरी मात्र होइन, हामी सबैको उत्तरदायित्व हो सुधारमा हातेमालो गर्नु।”

रामपुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष रामबहादुर रानाले पुस्तक अध्ययनले व्यक्तिको सोचमा गहिरो प्रभाव पार्ने भन्दै समाज रूपान्तरणमा पुस्तकालयको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो।

कालीगण्डकी फाउन्डेसन नेपालका अध्यक्ष नीलकण्ठ भण्डारीले हिरासतमा रहेका व्यक्तिहरूलाई निराशाबाट आशामा लैजान र उनीहरूलाई सकारात्मक बाटो देखाउन पुस्तक हस्तान्तरण गरिएको बताउनुभयो।

कार्यक्रममा समाजसेवी दुर्गादेवी राना, रामतुलसी माविका व्यवस्थापन समिति अध्यक्ष विशाल श्रेष्ठ, र शहीद बहुमुखी क्याम्पसका प्रमुख मुरारीप्रसाद काफ्ले लगायतले हिरासतमा पुस्तकालय स्थापना गर्नु अत्यन्तै सराहनीय कदम भएको बताउनु भएको थियोे । उहाँहरूले यस्तो खालका कार्यक्रमहरूले हिरासतमा रहेका व्यक्तिहरूमा मानसिक रुपान्तरण र आत्मपरीक्षणको अवसर दिने विश्वास व्यक्त गर्नु भएको छ।

कार्यक्रमको सञ्चालन प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठले गर्नुभएको थियो।

हिरासतमा रहेका व्यक्तिहरूलाई पढ्ने बानी बसाल्न र आत्मपुनरावलोकन गर्न प्रेरित गर्ने उद्देश्यले सुरु गरिएको यो पुस्तकालयले समाजमा सकारात्मक परिवर्तन ल्याउन सघाउने विश्वास लिइएको छ। प्रहरी कार्यालय रामपुरले सुरु गरेको यस्तो मानवीय प्रयास अन्य स्थानका प्रहरी इकाइहरूका लागि पनि प्रेरणादायी बन्ने अपेक्षा गरिएको छ।