पाल्पा, असार ४
रामपुर नगरपालिकाका महिलाहरुलाई व्यावसायिक र आत्मनिर्भर बनाउन ‘खादा बनाउने तालिम’ प्रदान गरिएको छ। उप–प्रमुख ग्रामीण महिला उत्थान कार्यक्रम अन्तर्गत आयोजित तालिममा रामपुर नगरपालिका भित्रका २२ जना महिलाहरुले सहभागिता जनाएका थिए।
गत जेठ १६ गतेदेखि असार ३ गतेसम्म सञ्चालन भएको तालिमको समापन समारोहमा नगर प्रमुख रमण बहादुर थापाले सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो। कार्यक्रममा उहाँले महिलाहरुलाई व्यावसायिक सिपमार्फत उद्यमशील बनाउन नगरपालिकाले निरन्तर सिपमूलक तालिम सञ्चालन गर्दै आएको बताउनुभयो।
“सिर्जित सिपको सही सदुपयोग गर्दै महिलाहरु आत्मनिर्भर बन्नु पर्छ,” नगर प्रमुख थापाले भन्नुभयो। उहाँले तालिम लिएर उद्यम सुरु गर्न चाहने महिलाहरुलाई आवश्यक उपकरण र बजारको सुनिश्चितता समेत नगरपालिकाले गरिदिने प्रतिवद्धता जनाउनुभयो।
रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापाले महिलाहरुले तालिमबाट प्राप्त सिपलाई व्यवहारमा उतार्न अनुरोध गर्नुभयो। उहाँले नगरपालिकाले उद्यमी महिलाहरुलाई आवश्यकताअनुसार उपकरणमा समेत अनुदान उपलब्ध गराउने जानकारी दिनुभयो। साथै, महिलाहरुले उत्पादन गरेका सामग्री ‘उपप्रमुख कोसेली घर’ मार्फत बिक्री वितरणको व्यवस्था नगरपालिकाले मिलाएको बताउनुभयो।
समापन कार्यक्रममा नगर प्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले तालिम लिने मात्र नभई सिपको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो। प्रशिक्षक बन्दना रानाले महिलाहरुलाई सिकेका सीपहरू व्यवहारमा उतार्न आग्रह गर्नुभयो।
सहभागी महिलाहरु माया श्रेष्ठ र फुलमाया परियारले तालिम उपयोगी भएको अनुभव साट्दै सिकेको सिपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाउनुभयो। तालिममा प्रशिक्षक बन्दना राना र निर्मला सारुले खादा बनाउने सिप प्रदान गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारले गर्नुभएको थियो।





