रामपुर वचत तथा ऋण सहकारी संस्थाको शिक्षा उपसमितिले सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । रामतुलसी नमुना माध्यमिक विद्यालयको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि सहकारीका अध्यक्ष गुरुप्रसाद रेग्मी रहेका रहनु भएको थियो । प्रमुख अतिथि रेग्मीले बोल्दै थौरै थौरै रकम जम्मा गरेर भविष्यको लागि रकम सङ्कलन गर्न अनुरोध गर्नु भएको छ । सहकारीले सेवा क्षेत्रका विभिन्न स्थानमा पुगेर सहकारी शिक्षा कार्यक्रममार्फत सेयर सदस्य तथा सर्वसाधारणलाई जानकारी दिदै आएको उहाँले बताउनु भएको छ ।
रामतुलसी नमुना मावि विद्यालय व्यवस्थापन समिती अध्यक्ष विशाल श्रेष्ठले सहकारीले गरेको यस्ता कार्यक्रमले समुदायमा राम्रो प्रभाव पारेको बताउदै आगामी दिनमा पनि यस्ता कार्यक्रम अगाडि बढाउन अनुरोध गर्नु भएको छ। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले सहकारीले गरेको कार्यक्रमले समुदायमा राम्रो प्रभाव पार्ने बताउनु भएको छ ।
सहकारी संचालक समिति कोषाध्यक्ष बन्दना पोखरेलको स्वागतबाट सुरु भएको कार्यक्रमको अध्यक्षता शिक्षा उपसमिति संयोजक पबित्रा पौडेल ढकालले गर्नु भएको थियो ।शिक्षा उपसमिति संयोजक तथा कार्यक्रमका अध्यक्ष ढकालले बोल्दै भोलिको भविष्यका लागि बचत अनिवार्य गर्नुपर्ने, अभिभावकले पनि आफ्नो बालबालिकाको लागि आज नै संस्थामा सदस्य बनेर नियमित बचत गर्न अनुरोध गर्नु भएको छ ।
शिक्षा उपसमिति सदस्य जमुना राना मगरको संचालनमा कार्यक्रम भएको हो । रामतुलसी माविका अभिभावकलाई लक्षित गरि कार्यक्रम आयोजना गरिएको सहकारीका व्यवस्थापक गोविन्द पाठकले जानकारी दिए । सहकारीले विभिन्न विद्यालय तथा स्थानमा वित्तीय साक्षरता, सहकारीले दिने सेवा, गतिविधि लगायतका बारेमा जानकारी दिदै आईरहेको छ । व्यवस्थापक पाठकले कार्यक्रम सहजिकरण गर्दै सहभागीलाई सहकारीको काम, अवधारणा, वचत गर्ने तरिका लगायतका विभिन्न विषयमा जानकारी गराएका हुन् ।शिक्षा उपसमितिका संयोजक पवित्रा पौडेल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा १५० जना सहभागी थिए ।








