रामपुरमा ‘सकारात्मक सोच र खुसी एक कला’ कार्यक्रम सम्पन्न

बोली खबर   २०८२-०३-०७

पाल्पा, असार ७ ।
रामपुर नगरपालिका वडा नं. ४ को आयोजनामा ‘सकारात्मक सोच र खुसी एक कला’ कार्यक्रम सम्पन्न भएको छ । शनिबार रामपुरमा विद्यार्थी, शिक्षक र अभिभावकलाई लक्षित गरी सकारात्मक सोच सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा मानव सेवा आश्रमका संस्थापक तथा केन्द्रीय अध्यक्ष रामजी अधिकारीले सकारात्मक सोच र खुशीलाई जीवनको महत्वपूर्ण कला भनेर वर्णन गर्नुभयो । उहाँले भन्नुभयो, “सकारात्मक सोच भनेको कठिन परिस्थितिमा पनि आशा नहार्ने शक्ति हो । जीवनमा बाधा, समस्या र चुनौती आउँछन् तर सकारात्मक सोच राख्न सकियो भने ती सबैलाई सहजै पार गर्न सकिन्छ ।”

अधिकारिले जीवनमा खुशी प्राप्त गर्नका लागि बाहिरी चिजहरू भन्दा पनि आन्तरिक सोच र दृष्टिकोण परिवर्तन गर्नु पर्नेमा जोड दिनुभयो । “खुशी बाहिर खोजेर पाइँदैन, खुशी त आफ्नै मन र सोचमा हुन्छ,” उहाँले भन्नुभयो । उहाँले सानो कुरामा पनि सन्तुष्ट हुन सिक्न, आफैंलाई प्रेम गर्न र अरुको सफलतामा खुसी हुन आग्रह गर्नुभयो ।

उहाँले अगाडि भन्नुभयो, “सपना देख्नुहोस्, उद्देश्य बनाउनुहोस् र समयमै कार्य गर्नुहोस् । यदि हामीले समयमै आफूलाई परिचालन गर्न सकिएन भने पछुतो बाहेक केही हात लाग्दैन ।” उहाँले हरेक कामलाई माया गरेर, कर्तव्य बोधका साथ अघि बढ्न सके मात्र साँचो सफलताको स्वाद चाख्न सकिने बताउनुभयो ।

रामजी अधिकारीले बुवा-आमा, गुरु र जन्मभूमिको महत्व समयमै बुझ्न आवश्यक रहेको र यिनको सम्मान गर्ने अवसर छुट्दा जीवनभर पश्चाताप मात्रै बाँकी रहने चेतावनी दिनुभयो ।

कार्यक्रममा रामपुर नगर उप–प्रमुख बालकुमारी थापाले सकारात्मक सोचले जीवनलाई सुखी र सफल बनाउन सहयोग गर्ने बताउनुभयो । नगर प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष कपिलबहादुर खाँणले सोच परिवर्तन गर्न सकियो भने मात्रै स्वभाव र व्यवहारमा सकारात्मकता ल्याउन सकिने बताउनुभयो ।

शिक्षा अधिकृत विकल काफ्लेले उर्जाशील बालबालिकाहरुका लागि लक्षित कार्यक्रमले थप उर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । दरैठाँटी माध्यमिक विद्यालयका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटाले विद्यार्थीहरुको व्यक्तित्व विकासका लागि यस्ता कार्यक्रम समय समयमा आवश्यक रहेको उल्लेख गर्नुभयो ।

रामपुर वडा नं. ४ का वडा अध्यक्ष राम बहादुर रानाले विद्यार्थी, शिक्षक र अभिभावक मिलेर सकारात्मक सोचको विकासमार्फत समाज रुपान्तरणमा महत्वपूर्ण योगदान दिन सकिने बताउनुभयो ।

‘नमस्ते पाल्पा होटल’को सभाहलमा बिहान र दिउँसो गरी दुई सत्रमा सम्पन्न कार्यक्रम वडा अध्यक्ष राम बहादुर रानाको अध्यक्षतामा सञ्चालन भएको थियो । कार्यक्रमको सुरुवात कार्यपालिका तथा वडा सदस्य सिमादेवी थापाको स्वागत मन्तव्यबाट भएको थियो भने धन्यवाद ज्ञापन वडा सदस्य मोहम्मद अजिम शेखले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन वडा सदस्य मोहन सिंह रानाले गर्नुभएको थियो ।

कार्यक्रममा विद्यार्थी, शिक्षक र अभिभावकहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।