
पाल्पाको राम तुलसी नमुना माध्यमिक विद्यालयले पाल्पामै सरकारी क्षेत्रमा पहिलो पटक होटल म्यानेजमेन्ट सम्बन्धी दुई वर्षे कक्षा सञ्चालनमा ल्याउने तयारी गरेको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष विशाल श्रेष्ठका अनुसार, यस कार्यक्रममा करिब ३० लाख बढी लगानी हुने अनुमान गरिएको छ।
अध्यक्ष श्रेष्ठका अनुसार होटल म्यानेजमेन्ट कक्षामा करिब ३० देखि ४० जना विद्यार्थी भर्ना हुने अनुमान गरिएको छ। यसले एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूलाई लक्षित गरि विद्यालयले यसका लागि पूर्वाधार व्यवस्थापनका लागि काम सुरु गरिसकेको छ। कालीगण्डकी बेशिमा यो बिषय नभएको र पछिल्लो समय यसको अत्याधिक माग बढेको कारण बिषय थप गर्न लागेको बताउनु भएको छ।
विद्यालयका प्राचार्य बालकृष्ण लम्सालका अनुसार विद्यालय सिटिइभिटी (CTEVT) सँग अनुबन्धित भएकाले विषय थप गरे मात्र हुने भएकोले होटल म्यानेजमेन्ट विषय थप्न लागिएको हो। यसले विद्यार्थीहरूलाई व्यावसायिक दक्षता हासिल गर्न सहयोग पुर्याउनेछ। आर्थिक अवस्था कमजोर भएका र यो बिषय अध्ययन गर्न मन भएका बाहिर जान समस्या भएका मात्र होइन सबैलाइ यसले फाइदा पुर्याउने छ लम्सालले भन्नू भयो । उहाँले विद्यालयको हरेक गतिविधिमा सहयोग गर्ने सबैलाइ धन्यवाद समेत दिनु भएको छ
राम तुलसी नमुना माध्यमिक विद्यालयले शैक्षिक क्षेत्रमा मात्र नभई विविध सामाजिक तथा सांस्कृतिक गतिविधिहरूमा पनि ध्यान दिइरहेको छ। विद्यालयले विद्यार्थीहरूको समग्र विकासका लागि खेलकुद, सांस्कृतिक कार्यक्रम, र सामुदायिक सेवा परियोजनाहरू सञ्चालन गर्दै आएको छ।
यसैगरी, विद्यालयले डिजिटल सिकाइ प्रविधि र गुणस्तरीय शिक्षा प्रदान गर्न आधुनिक प्रविधिको उपयोग गर्दै आएको छ। विद्यालयले विद्यार्थीहरूको भविष्य निर्माणमा ध्यान दिँदै गुणस्तरीय शिक्षा र व्यावहारिक शिक्षामा जोड दिदै आइरहेको छ।
पाल्पाको यस नमुना विद्यालयमा होटल म्यानेजमेन्ट कक्षा सुरु हुन लागेको खबरले स्थानीय युवाहरूमा उत्साह थपेको छ। यसले रोजगारका अवसरहरू सिर्जना गर्ने र स्थानीय पर्यटन उद्योगको विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
