शहीद क्याम्पसमा नवनिर्वाचित सञ्चालक समितिको शपथ ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न

बोली खबर   २०८२-०३-२२

पाल्पा, रामपुर ।
शहीद बहुमुखी क्याम्पस रामपुर, पाल्पामा नवनिर्वाचित क्याम्पस सञ्चालक समितिको शपथ ग्रहण तथा पदस्थापन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। निर्वाचन प्रक्रिया अनुसार गठित समितिलाई निर्वाचन समितिका निर्वाचन अधिकृत सूर्य प्रसाद घिमिरेले शपथ गराएका हुन्।

रामप्रसाद ढकाल (रमेश) को अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति निर्विरोध रूपमा गठन भएको थियो। समितिमा फणेश्वर गौतम, सुकदेव पोखरेल, दुर्गा देवी पोखरेल, यम बहादुर सुनार, हरि प्रसाद गैरे, कृष्ण प्रसाद भट्टराई, सावित्रा गैरे र चन्द्रा न्यौपाने भण्डारी सदस्यको रूपमा चयन भएका छन्।

कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष नेत्र प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा अन्तर्गत अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठ रहेका थिए।

प्रमुख अतिथि श्रेष्ठले शैक्षिक क्षेत्रलाई थप उचाइमा पुर्‍याउन क्याम्पसले शैक्षिक हबको अवधारणा लिएर अघि बढ्नु आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले शहीद क्याम्पसलाई गण्डकी वेशी क्षेत्रकै शैक्षिक धरोहरको रूपमा चिनाउँदै व्यवहारिक तथा गुणस्तरीय शिक्षातर्फ योजनाबद्ध रूपमा लाग्न सुझाव दिनुभयो।

कार्यक्रममा विभिन्न दल तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। नेपाली कांग्रेस रामपुर नगर समिति सचिव ओमप्रकाश बस्याल, नेकपा एमालेका प्रदेश कमिटी सदस्य बुद्धिराज गौतम, माओवादी केन्द्रका नगर अध्यक्ष भिमविश्व भट्टराई, नेकपा एकीकृत समाजवादीका प्रदेश सदस्य कमल सेन, राष्ट्रिय जनमोर्चाका पदम पौडेल, वडा नं. ६ का अध्यक्ष एवं कोषाध्यक्ष दिवाकर देवकोटा, वडा नं. ७ का अध्यक्ष दोवराज तिवारी, क्याम्पस प्राध्यापक संघका सभापति शारदा प्रसाद पाण्डे, पत्रकार महासंघ पाल्पा शाखाका उपाध्यक्ष बन्दना पोखरेल, स्ववियु सभापति राजन गौतमलगायतको उपस्थिति रहेको थियो।

क्याम्पस प्रमुख मुरारी प्रसाद काफ्लेले क्याम्पसको वर्तमान अवस्था र भावी योजना बारे जानकारी गराउँदै आगामी दिनमा समावेशी, व्यवहारिक र प्रविधिमैत्री शिक्षाको खाका प्रस्तुत गर्नुभयो। कार्यक्रमको सञ्चालन सहायक प्रध्यापक एवं निर्वाचन अधिकृत सूर्य प्रसाद घिमिरेले गर्नुभएको थियो भने स्वागत मन्तव्य सञ्चालक समितिका उपाध्यक्ष सुकदेव पोखरेलले दिनुभएको थियो।

नव गठित सञ्चालक समितिले पहिलो बैठकमार्फत समितिका पदाधिकारीहरूको मनोनयन गर्ने निर्णय समेत लिने जानकारी दिइएको छ।