मानव बेचबिखन बिरुद्धको अन्तर्राष्ट्रिय दिवस रामपुर पाल्पामा मनाईयो

बोली खबर   २०८२-०४-१५

मानव बेचबिखन बिरुद्धको अन्तर्राष्ट्रिय दिवस रामपुर पाल्पामा मनाइएको छ । मानव बेचबिखन अन्त्य गरौं , सभ्य समाजको निर्माण गरौ भन्ने नारा सहित ईलाका प्रहरी कार्यालय रामपुरले सरोकारवालाहरुलाई लक्षित गरि कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा रामपुर नगरपालीकाका नगर उपप्रमुख बालकुमारी थापा प्रमुख अतिथी रहनु भएको थियो । प्रमुख अतिथी थापाले बोल्दै मानव बेचबिखन भन्नाले व्यक्ति वा समूहलाई जबरजस्ती, प्रलोभन, छलकपट वा बलपूर्वक काम, यौन शोषण, अंग व्यापार, घरेलु श्रम आदि कार्यमा जबर्जस्ती संलग्न गराउने कार्यलाई जनाइन्छ। यसमा बालबालिका, महिला र पुरुष सबै प्रभावित हुन सक्छन्।आर्थिक अभाव शिक्षाको अभाव र चेतनाको कमी आप्रवासनप्रतिको मोह र विदेश जाने रहर परिवार वा आफन्तकै विश्वासघात प्रलोभनमा परेर मानव बेचबिखन हुने गर्दछ । यस्ता घटनाबाट सजक रहन गरिएको कार्यक्रम राम्रो रहेको बताउदै उहाँले उपस्थितलाई सिकेका कुरा समुदायमा पुर्याउन आग्रह गर्नु भएको छ ।

ईलाका प्रहरी कार्यालय रामपुरका प्रमुख रामबहादुर नेपालीले मानव बेचबिखन भनेको केहो ? , यस्का कारण जस्ता बिषयमा जानकारी गराउनु भएको छ ।
मानव बेचबिखन आजको युगमा समेत विश्वव्यापी संकटका रूपमा उभिएको गम्भीर मानवअधिकार उल्लंघन भएकोले विशेष गरी गरिबी, बेरोजगारी, शिक्षा र चेतनाको अभावले गर्दा नेपालजस्ता विकासोन्मुख मुलुकहरूमा मानव बेचबिखनको दर उच्च रहेको बताउनु भएको छ ।

नेपालबाट भारत, खाडी मुलुकहरू, मलेसिया लगायतका देशहरूमा रोजगारीको नाममा मानिसहरू बेचबिखनमा पर्ने गरेका छन साथै , पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग गरेर पनि मानिसहरू फसाइएका कयौं उदाहरणहरू बारे छलफल गरिएको थियो ।
कानुनी उपचार
नेपालमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार मानव बेचबिखन गम्भीर अपराध मानिन्छ।दोषीलाई १० वर्षदेखि २० वर्षसम्मको कैद सजाय रहेको छ ।
संयुक्त राष्ट्रसंघले सन् २०१३ देखि यो दिवस मनाउन थालेको हो। दिवसको उद्देश्य मानव बेचबिखनविरुद्ध जनचेतना फैलाउने, पीडितको अधिकारको संरक्षण गर्ने, र अपराधीलाई कानूनी कठघरामा ल्याउने हो।
नेपाल प्रहरीको २०८०/८१ को तथ्यांक अनुसार:
आर्थिक बर्ष ५५० भन्दा बढी मानव बेचबिखनसम्बन्धी उजुरी परेका छन् । नेपाल प्रहरीले ८० भन्दा बढी मानव तस्कर पक्राउ परेका छन्।३५० भन्दा बढी पीडित उद्दार गरिएको तत्थ्याङ्ग रहेको छ ।
सचेतना मुलुक कार्यक्रम प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको सन्चालन र प्रहरी निरीक्षक रामबहादुर नेपालीको सम्योजनमा भएको हो ।कार्यक्रममा रामपुर क्षेत्रका विभिन्न संघ सस्थाको उपस्थिति रहेको छ ।