रामपुर नगरपालिका–६, पूर्वटारमा श्रीमद्भागवत महापुराण/शिवमहापुराण ज्ञान महायज्ञ एवम् श्रावणी महोत्सव सुरु

बोली खबर   २०८२-०४-१५

साउन
पाल्पा, रामपुर नगरपालिका–६, पूर्वटारमा श्रीमद्भागवत महापुराण/शिवमहापुराण ज्ञान महायज्ञ एवम् श्रावणी महोत्सव सुरु भएको छ । संगित पाठशाला सञ्चालन सहयोगार्थ रामपुर भजन कर्तिन मण्डली (भजनकीर्तन समाज) रामपुरले सञ्चालन गरेको महायज्ञ एवम् श्रावणी महोत्सवको सोमबार शुभारम्भ गरिएको हो ।

आगामी श्रवण ३१ गते सम्म सञ्चालन हुने यज्ञको दिप प्रज्वलन गरी शुभारम्भ गर्नहुँदै रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले संघिय पश्चात् मुलुकमा भौतिक विकास संरचनाको विकास भए पनि सकारात्मक सोँचको विकास अभाव खड्कीएको बताउनुभयो । उहाँले सकारात्मक सोँच आध्यात्मिक विचार बाट मात्र प्राप्त हुने भएकाले धार्मिक अनुष्ठानहरुको महत्वपूर्ण स्थान रहने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “हामीले अधिकार मात्र खोज्दै जाँदा कर्तव्य कति पुरा गर्‍यौ भन्ने सोच्ने समय आएको छ ।” उहाँले  संस्कार सहितको जीवन उपयोगी शिक्षाको अभावमा हाम्रो संस्कार र संस्कृति नयाँ पुस्ताले भुल्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो ।

संगीतले मनलाई खुशी बनाउनुका साथै जीवनलाई सही मार्गमा हिडाउन प्रेरित गर्नुका साथै रचनात्मक बन्न प्रेरित गर्ने बताउनुभयो । नगरपालिकाले मौलिक बाजा र सीप सिकाउन प्रयास गर्दै आएको बताउँदै संगितपाठशालाले थप  टेवा दिने बताउनुभयो । महोत्सव विशिष्ट लक्ष्यका साथ सञ्चालन भएकाले सबैले आवश्यक साथ र सहयोग गर्न आग्रह गर्नुभयो । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले संगीत एउटा जीउने कला भएको बताउँदै संगीतपाठशाला स्थापनाको लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले संगीतपाठशाला रामपुर नगर सहित कालीगण्डकी उपत्यकाको लागि आवश्यक रहेको बताउनुभयो ।

काक्रमम जेष्ठ नागरिक संघ पाल्पाका अध्यक्ष देवराज ढकाल, नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिका उपसभापति क्याप्टेन देव बहादुर थापा मश्राङ्गी, नेकपा एमाले रामपुर नगर कमिटी सचिव लोकनाथ भट्टराई, नेकपा एकीकृत समाजवादी रामपुरका अध्यक्ष फणेश्वर गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टी रामपुरका अध्यक्ष राजेन्द्र प्रसाद ढकाल, राष्ट्रिय जनमोर्चा रामपुर नगर कमिटी अध्यक्ष राम प्रसाद गैरे, रामपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दिवाकर देवकोटा, शहीद बहुमुखी क्याम्पस रामपुरका अध्यक्ष राम प्रसाद ढकाल, श्रावणी महोत्सव मूल आयोजक समितिका सल्लाहाकार विष्णुमाया ढकाल र नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष बन्दना पोखरेलले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमका वक्ताहरुले बाजा सम्बन्धी सीप नयाँ पुस्तामा हस्तान्तरणमा पाठशालाले महत्वपूर्णटेवा दिने बताएका थिए । पछिल्लो समय मानसिक समस्याका विरामी बढ्दै गैरहेको सन्दर्भमा संगीत उपयुक्त उपचारको माध्यम रहेको धारणा राखेका थिए ।

महायज्ञ शुभारम्भको अवसरमा रामपुर नगरपालिकाको सहयोगमा रामपुर भजनकीर्तन मण्डलीले निर्माण गरेको राधाकृष्ण मन्दिरको वैदिक विधि पूर्वक रामपुर नगरप्रमुख रमण बहादुर थापाले समुद्घाटन गर्नु भएको थियो । कार्यक्रम श्रीमद्भागवत महापुराण/शिवमहापुराण ज्ञान महायज्ञ एवम् श्रावणी महोत्सव मूलआयोजक समितिका अध्यक्ष कृष्ण प्रसाद अर्यालको अध्यक्षतामा भएको थियो । मूल आयोजक समितिका उपाध्यक्ष केशव पोखरेलको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव लेखनाथ शर्मा मरासिनीले गर्नुभएको हो । महायज्ञमा प्रमुख वाचकमा नरोत्तमशरण नेत्र प्रसाद पराजुलीले संगितमय शैलीमा कथा वाचन गरिरहनु भएको छ । श्रावण महिना आफैमा पवित्र महिना रहेको बताउँदै पण्डित पराजुलीले पुण्यकार्यमा सरिक हुन सबैलाई आग्रह गर्नुभयो । महोत्सवको उपबाचकमा पण्डित हरि प्रसाद खनाल रहनु भएको छ ।

मूल आयोजक समितिका अध्यक्ष कृष्ण प्रसाद अर्यालले  ५० लाख बढी दान संकलन गर्ने लक्ष्य लिईएको बताउनुभयो । यज्ञका संकल्पकर्ता एवं रामपुर भजनकीर्तन मण्डलीका अध्यक्ष टिकाराम ढकालले मौलिक बाजाको संरक्षण संगै नयाँ पुस्तालाई बाजाको विषयमा प्रशिक्षण तथा आवश्यक संगित कक्षा सञ्चालनको लागि संगित पाठशाला स्थापनार्थ महायज्ञको थालनी गरिएको बताउनुभयो । शुभारम्भ कार्यक्रम पूर्व झाँकी सहित १६ वटा भन्दा बढी विभिन्न संघ, संस्था र समूहको उपस्थितिमा शोभाकलश यात्रा निकालिएको थियो ।