साउन १४ ।पाल्पा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेजन नेपाल (प्याव्सन) केन्द्रीय प्राज्ञिक परिषद् सदस्यमा रामपुर अंग्रेजी आवासीय माध्यमिक विद्यालयका प्रबन्ध निर्देशक सुर्यप्रसाद घिमिरे मनोनित हुनु भएको छ । मनोनित हुनु भएकोमा घिमिरेलाई विद्यालय परिवारले बधाई तथा शुभकामना व्यक्त गर्दै घिमिरेको मनोनयनले विद्यालय तथा पाल्पाको शैक्षिक क्षेत्रलाई गर्वित बनाएको बताएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद रेग्मीले प्याव्सनको केन्द्रीय प्राज्ञिक परिषद्मा घिमिरेको समावेश शैक्षिक क्षेत्रमा दिएको लामो योगदानको उच्च कदर भएको बताउनुभयो । “यो विद्यालय परिवारका लागि मात्र होइन, सिंगो पाल्पाका लागि गौरवको कुरा हो,” उहाँले भन्नुभयो । “प्याव्सन जस्तो प्रतिष्ठित शैक्षिक संस्थाको केन्द्रीय प्राज्ञिक परिषद्को सदस्यमा आबद्ध हुनु नै शैक्षिक क्षेत्रको लागि महत्वपूर्ण कुरा हो” अध्यक्ष रेग्मीले भन्नुभयो,–“प्रबन्ध निर्देशक घिमिरेले प्याब्सनमा रहेर लामो समय शैक्षिक क्षेत्रमा योगदान दिनुभएको छ, आज उहाँको योगदानको कदर भएको छ, हामी विद्यालय परिवार अत्यन्तै खुशी छौँ” ।
प्याव्सनले केन्द्रीय शैक्षिक उन्नयनका साथै नेपालको शिक्षा विकासमा ल्याएको योगदानको कदर गर्दै सबै सदस्य विद्यालयहरूको प्राज्ञिक विकास तथा शैक्षिक उन्नयन कार्यालयमा विशेष योगदान पुर्याउने उद्देश्यकासाथ प्राज्ञिक परिषद गठन गरेको छ । प्रबन्ध निर्देशक घिमिरेले शिक्षा क्षेत्रमा दिएको अतुलनिय योगदानको उच्च सम्मान गर्दै प्याव्सन नियमावली तेस्रो संशोधन २०७८, को नियम ४२ वमोजिम प्राज्ञिक परिषद् सदस्य पदमा मनोनयन गरिएको प्याव्सनको मनोनयन पत्रमा जनाइएको छ ।
प्याव्सनका केन्द्रीय प्राज्ञिक परिषद् सदस्य तथा रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालयका प्रबन्ध निर्देशक घिमिरेले आफूलाई बधाई तथा शुभकामना दिने विद्यालयका अध्यक्ष, समिति सदस्य, शिक्षक, कर्मचारी, विद्यार्थी, सरोकारवाला निकाय लगायत सबैलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नु भएको छ । प्याव्सनको नीति नियममा रहेर संस्थाको गरिमा कायम राख्दै शैक्षिक क्षेत्रको उन्नयन र विकासको लागि आफूले कार्य गर्ने घिमिरे बताउनुहुन्छ । उहाँले शैक्षिक विकासमा निरन्तर लाग्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।
घिमिरेले लामो समयदेखि रामपुर आवासिय विद्यालयसहित शहीद बहुमुखी क्याम्पसको प्राध्यापकको रुपमा शैक्षिक क्षेत्रमा योगदान दिदै आउनु भएको छ । कानुनविद् समेत रहनु भएका घिमिरेले शैक्षिक क्षेत्रका अलवा रामपुर नगरपालिका क्षेत्रमा विभिन्न सामाजिक संघसंस्थामा समेत आबद्ध हुनुहुन्छ ।


