पाल्पा, साउन १७ ।
तनहुँको घिरिङ गाउँपालिका–१, पुट्टारस्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा शनिबार दिउँसो विद्युत सर्ट भएर आगलागी भएको छ । शिक्षालयको भण्डार कक्षमा आगलागी हुँदा कम्प्युटर, प्रिन्टर, कागजपत्र तथा दुईवटा पङ्खा जलेर क्षति भएको छ ।
शिक्षालयका प्रमुख कृष्ण बहादुर श्रेष्ठका अनुसार खाजा खाने समयमा झण्डै सवा दुई बजेतिर क्यान्टिन नजिकैको भण्डार कोठाबाट धुवाँ निस्किरहेको देखिएको थियो । तत्काल शिक्षक, कर्मचारी, विद्यार्थी तथा सुरक्षाकर्मीको सहयोगमा फायर एक्सटिङ्ग्विशर प्रयोग गरी आगो नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो ।
“समयमै देखेर नियन्त्रणमा लिईएकाले ठूलो क्षति हुनबाट जोगिएको छ,” प्रमुख श्रेष्ठले भन्नुभयो ।
पुट्टार प्रहरी चौकीका प्रहरी नायव निरीक्षक सागर रानाले भण्डारण कक्षभित्र रहेका कम्प्युटर, प्रिन्टर, पङ्खा लगायतका सामग्री जलेर नष्ट भएको जानकारी दिनुभयो । साथै, घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । फोटो रामप्रसाद श्रेष्ठबाट




