पाल्पा, रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सरोकालवाहरु संग छलफल गरेको छ । संस्थाको अधिवेशन, नयाँ आयोजना सञ्चालन तथा संस्थाले गरेका कार्यहरुको विषयमा सर्वपक्षिय बैठक सहित छलफल गरेको हो ।
आइतबार भएको कार्यक्रममा रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष एवं लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले बैठकको एजेण्डा सहित वर्तमान समिति मार्फत भएको कार्यक्रम तथा योजनाको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले नयाँ समिति गठन सर्वसम्मत रुपमा गर्नु पर्नेमा जोड दिनु भएको थियो । रामपुर साना शहरी खानेपानीको आयोजनाको पाइपलाईन विस्तार तथा क्षमता विस्तारका लागि संघिय सरकार खानेपानी मन्त्रालय डिपिआर भएर नयाँ योजनाको लागि यस वर्ष बजेट विनियोजन भएको बताउनुभयो ।
सात हजार बढी घरधुरीलाई २० वर्ष सम्म पानी उपलब्ध गराउने गरी सहलगानीमा ६२ करोड ८५ लाख ८० हजारको डिपिआर सहितको योजना कार्यान्वयन हुन गैरहेको बताउनुभयो । नेपाल सरकारको ८५ प्रतिशत, उपभोक्ताको ५ प्रतिशत र नगर विकास कोषको १० प्रतिशत ऋण लगानीमा योजना सञ्चालन हुन गैरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था प्रत्यक्ष जनता संग जोडिएको बताउँदै मिलेर समिति गठन गर्नुको विकल्प नभएको बताउनुभयो । नगरपालिकाले सडक गुरुयोजना अघि बढाएको बताउँदै नयाँ योजनाको पाइपलाईन विस्तार गर्दै गर्दा सडकमा नपर्ने गरि विस्तार गर्नु आवश्यक रहेको बताउनुभयो । अधिकांश सडक पिच भैसकेको र नालीहरु निर्माण भएकाले जमिन सतहको पानी रिचार्ज नहुने जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले संरचना निर्माण गर्दा अण्डरग्राउण्ड रिचार्जलाई समेट जोड दिने योजना बनाएको बताउनुभयो । नयाँ योजना अघि बढाउन नगरपालिकाले आवश्यक साथ र सहयोग गर्ने तयार रहेको बताउनुभयो ।
रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एवं निर्वाचन समितिका संयोजक सूर्यदर्शन पण्डितले रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ समिति गठनका लागि भदौ १४ गतेलाई निर्वाचन मिति तोकीएको जानकारी दिनुभयो । समितिले सोही अनुसार निर्वाचनका कार्यक्रम सञ्चालनका लागि गृहकार्य गरिरहेको बताउनुभयो । सरोकारवालाहरुको अपेक्षा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने रहेको र कारणबस सहमति जुट्न नसके निर्वाचन प्रक्रिया अघि बढाउन समिति तयार रहेको स्पष्ट पार्नुभयो । लुम्बिनी प्रदेशका पूर्व सांसद युवराज खनालले रामपुरको व्यवस्थित सहरको रुपमा अघि बढाउन खानेपानी, सरसफाई संगै पूर्वाधार विकासका ठूला योजना भित्र्याउन जनप्रतिनिधि तथा राजनैतिक दलहरु लाग्नु पर्नेमा जोड दिनुभयो ।
रामपुर-५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले सञ्चालनमा रहेको खानेपानी आयोजनाका अधिकांश पाइपलाईन सडकमा परेकाले चुनौती रहेको बताउनुभयो । उहाँले भूमिगत पानीको स्रोत घट्दै गएकाले नयाा योजनामा बगिरहेको मुलको पानीलाई प्राथमिकता लिनु पर्ने बताउनुभयो । साथै रिचार्ज पोखरी निर्माणमा पनि ध्यान दिनु पर्ने बताउनुभयो । रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले खानेपानीको नयाँ योजना अघि बढाउन सक्षम नेतृत्व आवश्यक रहेको बताउनुभयो । रामपुरको बढ्दो शहरीकरणलाई मध्यनजर गर्दै अहिले नै पूर्ण रुपमा विकास नभैसकेकाले निर्वाचन बाट भन्दा सर्वसम्मत रुपमा योजना अघि बढाउनु पर्ने बताउनुभयो । जेष्ठ नागरिक संघ पाल्पाका अध्यक्ष देवराज ढकालले रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई संस्थापक पदाधिकारीले योजना सम्पन्न गर्न र वर्तमान समितिले व्यवस्थापन गर्न महत्वपूर्ण योगदान दिने बताउनुभयो । उहाँले पनि नयाँ समिति सर्वसम्मत रुपमा गठन गर्नुपर्नेमा जोड दिनुभयो ।
संस्थाका संस्थापक अध्यक्ष कमलराज भट्टराईले सर्वदलीय सर्वपक्षिय पहलमा योजना अघि बढेको स्मरण गर्दै पाइपलाईन सुधार गर्नका लागि ठूला योजना अपरिहार्य रहेको बताउनुभयो । नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराईले पानीको गुणस्तरमा विश्वास दिलाउनु पर्नेमा जोड दिनुभयो । उहाँले खानेपानी आपूर्तिलाई सहज बनाउन वैकल्पिक योजना अघि बढाउनु आवश्यक रहेको बताउनुभयो ।नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष लिल बहादुर गाहाले नयाँ योजना सञ्चालनमा चुनौती रहेकाले विधान र कानुनले मिल्ने भएमा वर्तमान कार्यसमितिलाई निरन्तरता दिन र मिल्दैन भने सर्वसम्मत ढंग बाट नेतृत्व चयन गर्न आग्रह गर्नुभयो । नेकपा माओवादी केन्द्र रामपुर नगर कमिटी अध्यक्ष भिमविश्व भट्टराईले सहमतिको माध्यम बाट सक्षम नेतृत्व चयन गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी रामपुर नगर सभापति अर्जुन प्रसाद श्रेष्ठले खानेपानी अपरिहार्य रहेकाले सहज र सुलभ दरमा वितरणको व्यवस्था गर्नु आवश्यक रहेको बताउनुभयो । नेकपा एकीकृत समाजवादी रामपुर नगर कमिटीका अध्यक्ष फणेश्वर गौतमले योजना सञ्चालनमा समन्वय गर्दै अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । राष्ट्रिय जनमोर्चा रामपुर नगर कमिटी अध्यक्ष राम प्रसाद गैरेले चुनौती सामना गर्न सक्ने समिति सर्वसहमति गठन गर्नु पर्ने धारणा राख्नु भएको थियो ।
संस्थाका उपाध्यक्ष हजिल दिन मियाँले संस्थाको विधान संशोधन गर्नु पर्ने भएकाले अधिवेशनको मिति सरेको बताउनुभयो । कोषाध्यक्ष विष्णु माया ढकालले संस्थाको आर्थिक अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । होटल न्यू श्रीनगरको सभाहलमा भएको कार्यक्रम रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष राजु प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
संस्थाका उपाध्यक्ष हजुल दिनमियाँको स्वागत बाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई कोषाध्यक्ष विष्णु मायाँ ढकालले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव शालिकराम सिग्देलले गर्नु भएको हो ।






