रामपुरमा उप-प्रमुख तिज विशेष कार्यक्रम सम्पन्न

बाेलीखबर   २०८२-०५-०५

पाल्पा । उपप्रमुख तिज विशेष कार्यक्रम अन्तर्गत खुल्ला तिज गित प्रतियोगिता कार्यक्रम भएको छ । नगर उपप्रमुख बालकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य पाहुना राष्टिय सभा सदस्य विष्णु सापकाेटाले प्रतियोगिताको उद्घाटन गर्नु भयो ।

सापकाेटाले वर्तमान संविधानले कुनै पनि विभेद नगरेको बताउनुभयो । अधिकार सम्पन्न हुँदा हुँदै पनि केही पुरुषहरुले धर्म छाड्दै गर्दा महिलाहरु विभेद परेको बताउनुभयो । ‘विगतमा पुरुषहरुले आफ्नो अनुकुल कानुन निर्माण गरेकाले महिलाहरु पछि परेपनि वर्तमान संविधान र व्यवस्थाले महिलाहरुलाई अधिकार सम्पन्न बनाएको छ ।’ उहाँले भन्नुभयो । यो वर्तमान व्यवस्थालाई फेल हुन दिन नहुने बताउँदै उहाँले भन्नुभयो, ‘यो व्यवस्था अत्यन्तै राम्रो छ । संघियता कै कारण जनतको घर दैलोमा सिंहदरबार आएको छ ।’ सापकोटाले हाम्रो धर्म, संस्कार संस्कृतिलाई कहिल्यै भुल्न नहुने बताउनु भयो ।

हरितालिका तिजको अवसरमा  उप–प्रमुख तिज विशेष कार्यक्रम अन्तर्गत प्रतियोगिता  १५ वटा विभिन्न संघ संस्था तथा समूह बाट भाग लिएका थिए । प्रतियोगितामा रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालय रामपुर ५ पाल्पाको अनिसा रानाको समूह प्रथम, नेपाल विद्यार्थी संघ शहीद बहुमुखी क्याम्पस शशी ढकालको समूह द्वितिय, क्षेत्री समाज रामपुरको समूह तृतीय र नव दुर्गा आमा समूह रामपुर-३ दुर्गा भट्टराईको समूह सान्त्वना भएको निर्णायक मण्डलका संयोजक लेखनाथ शर्मा मरासिनीले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुन सफल समुहलाई क्रमश नगद ३० हजार, २० हजार, १० हजार र ५ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो । विजेता समूहलाई राष्ट्रिय सभा सदस्य विष्णु कुमारी सापकोटा, रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा र उपप्रमुख बालकुमारी थापाले पुस्कार प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा नगर सल्लाहकार विष्णु माया ढकाल नेपालमहिला सघका रामपुर नगर उपसभापति सावित्रा गैह्रे , अ ने म सघ नगर अध्यक्ष राधिका भण्डारी लगायतले बोल्नु भयो ।कार्यक्रमको सन्चालन महिला विकास शाखा प्रमुख पुजा परियार र कर्मचारी पार्वती परियारले गर्नु भयो ।