पाल्पा, अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाको आयोजनामा साना व्यवसायीहरुको लागि तीन दिने लघु व्यवसाय खेल तालिम सुरु भएको छ । सहकारीमा आवद्ध साना व्यवसायीहरुको लागि वित्तिय व्यवस्थापन सिप प्रदान गर्न प्राविधिक सहयोग नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) को प्राविधिक सहयोगमा तालिम सञ्चालन गरेको हो ।तालिमको शुक्रबार शुभारम्भ गरिएको छ ।
अन्धकारमुक्ति साकोसका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको हो । तालिमको शुभारम्भ गर्नु हुँदै नगर प्रमुख थापाले आर्थिक समृद्धिका लागि व्यवसाय महत्वपूर्ण रहेको बताउनुभयो । कुनै पनि व्यवसाय सही व्यवस्थापन गर्न सके मात्र सफलता प्राप्त हुने बताउनुहुँदै थापाले तालिम बाट प्राप्त सिपको सहि सदुपयोग गरी अघि बढ्न समेत आग्रह गर्नुभयो । रामपुर नगरपालिकाले नगरबासीलाई व्यवसाय प्रति आकर्षित गर्न युवा स्वरोजगार कार्यक्रम मार्फत व्याज अनुदान प्रदान गर्दै आएको बताउनुभयो । साना उद्यमीलाई लक्ष्यित गरी नगरपालिकाले दुई वर्षका लागि ३० लाख सम्म व्याज अनुदान वितरण गर्दै आएको जानकारी दिनुभयो ।
थापाले देशका विभिन्न स्थानमा सहकारीमा ठगीको घटना सार्वजनि भैरहेको सन्दर्भमा रामपुर नगर क्षेत्रमा रहेका सहकारीमा कुनै समस्या नरहेको र ढुक्कका साथ कारोबार गर्न समेत आग्रह गर्नुभयो । अन्धकारमुक्ति साकोसका अध्यक्ष सागर प्रसाद देवकोटाले व्यवसाय सञ्चालन गर्दै आउनु भएका शेयर सदस्यहरुलाई आर्थिक रुपमा सक्षम र सफल बनाउनका लागि आवश्यक सिप प्रदान गर्न तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा नेफ्स्कुनका वरिष्ठ अधिकृत भरत न्यौपानेले तालिमको उद्देश्य र सञ्चालन प्रक्रियाको बारेमा जानकारी गराउनु भएको थियो । सहकारीको केन्द्रिय कार्यालयको सभाहलमा भएको तालिममा आगामी आइतबार सम्म सञ्चालन हुनेछ । तालिमको सहजिकरण नेफ्स्कुनका वरिष्ठ अधिकृत न्यौपाने र प्रशिक्षण अधिकृत उमेश कोइरालाले गरिरहनु भएको छ ।
तालिममा सहकारीमा आवद्ध ३० जना सदस्यहरुको सहभागीता रहेको व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेलले जानकारी दिनुभयो । शुभारम्भ कार्यक्रम अन्धकारमुक्ति साकोसका उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेको स्वागत र सचिव ओम प्रकाश बस्यालको सञ्चालनमा भएको हो ।






