रामपुर, १० — रामपुर नगरपालिका–१० मा टोल स्तरीय तीज गीत प्रतियोगिता शनिबार सम्पन्न भएको छ।
रामपुर नगरपालिका वडा न १० को आयोजना र अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामटार सेवा केन्द्र र कालीगण्डकी आधारशिला कृषि सहकारी संस्था लिमिटेड रामपुरको सहयोगमा आयोजित प्रतियोगिताको स्वागत वडा सदस्य सुमित्रा बर्मेलीले गर्नुभएको थियो।
कार्यक्रममा अन्धकार मुक्ति साकोसका सेवा केन्द्र प्रमुख चोलेश्वर चापागाईंले कार्यक्रमको उद्देश्य तथा वित्तीय साक्षरतासम्बन्धी बिषयवस्तु स्पष्ट पार्नुभएको थियो। प्रतियोगिताको अध्यक्षता वडा सदस्य रामकुमारी भण्डारीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा वडा अध्यक्ष तोयानाथ सारु उपस्थित हुनु भएको थियो।
प्रतियोगिताको मुख्य विषयवस्तु वित्तीय साक्षरता रहेको थियो। सहभागी ११ समूहले पैसा बचत, कारोबार र आर्थिक सचेतना सम्बन्धी विषयलाई समेटेर आफ्ना गीत प्रस्तुति गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष तोयानाथ सारुले
“यस किसिमका सांस्कृतिक कार्यक्रमहरूले समाजमा आर्थिक चेतना फैलाउने मात्र होइन, संस्कृतिको संरक्षण र महिला सशक्तीकरणमा समेत ठूलो योगदान पुर्याउँछ भन्दै सबै सहभागी समूहलाई धन्यवाद दिनु भएको छ।
शुभकामना मन्तव्य दिने क्रममा कार्यपालिका सदस्य भविश्वर कुमाल, नेकपा एमालेका तर्फबाट युबराज पन्थ, नेपाली कांग्रेस प्रतिनिधि जगन्नाथ तिमिल्सिना, राष्ट्रिय जनमोर्चाका भुवनसिंह सिंजाली र समाजसेवी एवं खानेपानीका अध्यक्ष मुकुन्द देवकोटाले आफ्ना विचार व्यक्त गर्दै ११०० घरधुरीमध्ये ९०० घरधुरीले खानेपानी सुविधा पाएको र “एक घर, एक धारा” योजना सफलतापूर्वक अघि बढेको जानकारी दिनुभयो।
प्रतियोगितामा बिन्दवासिनी महिला समूह मनभागाले प्रथम, सगरमाथा महिला समूह सिकोडाडाले द्वितीय, र जनचेतना आमा समूहले तेस्रो स्थान हासिल गरेका छन्।





