पाल्पा, ७ भदौ । नेकपा एमाले पाल्पाको तेस्रो पूर्ण बैठक शनिबार तानसेनमा सम्पन्न भएको छ ।
बैठकमा मनोनित जिल्ला कमिटी सदस्यलाई सपथ ग्रहण गराइएको थियो । जिल्लाका १० वटा पालिका कमिटीका अध्यक्षहरूले रिपोर्टिङ गरेका थिए । गत आर्थिक वर्षमा भएका प्रगतिकाबारेमा समीक्षा गरिएको थियो । मातहत कमिटीको बैठक, आगामी कार्ययोजना, जनसंगठनका बैठक तथा बाँकी भएका अधिवेशन भदौ मसान्तसम्म सम्पन्न गर्ने बैठकले निर्णय गरेको अध्यक्ष ओमबहादुर घर्तीमगरले बताउनुभयो । यस्तै पुस महिनासम्म टोल भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने निर्णय भएको छ ।पार्टीको यही भदौ २० गतेदेखि हुन गइरहेको विधान महाधिवेशनमा पेस हुने विधान संशोधन प्रस्तावका लागि सुझाव संकलन गरिएको उहाँले बताउनुभयो ।
बैठकमा प्रमुख अतिथि नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा पाल्पा क्षेत्र नम्बर २ का सांसद ठाकुर गैरेले बैठकले गरेका निर्णय प्रभाकारी कार्यन्वयन गर्न निर्देशन दिनुभयो । माथिल्लो निकायले अह्राएको काम मात्रै गर्ने होइन । आफ्नो तहबाट आवश्यकता अनुसार पार्टीको काम गर्नुपर्ने उहाँले बताउनुभयो । ‘अहिलेका नेता तथा कार्यकर्ता बिजुलीको स्वीच जस्तै भए ।’ उहाँले भन्नुभयो ‘माथिबाट अफ गरे बन्द हुने । अन गरे बल्ने जस्तै।’ अधिकांश नेता तथा कार्यकर्ताले आफै जानेर वा जिम्मेवारी बोध गरेर काम गर्न छाडेको उहाँले बताउनुभयो । सामूहिक रूपमा काम गर्न सुझाउनुभयो । जन अपेक्षा अनुसार काम गर्न पार्टी र जनप्रतिनिधि सँगै हिंड्नुपर्छ । पार्टी र एमालेका उमेदवारले जितेको ठाउँमा भएका कामबारे प्रचारप्रसार गर्न गैरेले बताउनुभयो ।
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले नीति विचार र विधानको अध्ययन गर्न सुझाव दिनुभयो । टोल तथा प्रारम्भिक कमिटीको छिटो छिटो अधिवेशन गर्नुपर्छ । पार्टीको निर्णयलाई सर्वोपरि मानेर अगाडि बढ्नुपर्ने हुन्छ । जनताको हितमा काम गर्नुपर्ने उहाँले बताउनुभयो । काम र योजनाले मात्र पार्टी र नेतालाई जनताले साथ दिने उहाँले बताउनुभयो ।
नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य धनेन्द्रराज घिमिरेले ८ बुँदे समसामयिक प्रस्ताव पेस गर्नुभएको थियो । लिपुलेक र लिम्पियाधुराका बारेमा भारत र चिनले गरेको सम्झौता प्रति बैठकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सिद्धबाबा सुरुङमार्ग र सिद्धार्थ राजमार्गको स्तरोन्नति गर्ने कार्यप्रति सरकारलाई धन्यवाद दिएको छ । दोस्रो विधान महाधिवेशन दुरदृष्टी विधान निर्माण गर्नुपर्ने र भब्य सफलताका लागि एमाले पाल्पाले आवश्यक सहयोग गर्ने छ । सरकार विरुद्ध भ्रम सिर्जना गर्ने कार्यलाई निरुत्साहित गर्न बैठकले पहल गर्नेछ । किसानले मल पाउने व्यवस्था मिलाउन र वन्यजन्तु नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
आगामी निर्वाचनमा एमाले पार्टीलाई बहुमत सहितको पहिलो पार्टी बनाउने गरी गतिविधि अगाडि बढाउने निष्कर्ष निकाले घिमिरेले बताउनुभयो । आउँदै गरेका विभिन्न चाडवर्पका बेला गुणस्तरीय उपभोग्य बस्तु सहज बनाउन बैठक माग गरेको छ ।
एमाले जिल्ला कमिटी पाल्पाका सदस्य स्वर्गीय वीरबिक्रम सुनार र जनक भण्डारी प्रति बैठकले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको उहाँले बताउनुभयो ।
यस्तै नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा पाल्पा क्षेत्र नम्बर १ का सांसद नारायण आचार्यले परिणाम सोचेजस्तो नभएपनि अन्य सरकारले भन्दा अहिलेको सरकारले राम्रा काम गरेको बताउनुभयो । तानसेन खानेपानी सिद्धबाबा सुरुङ्ग मार्ग त पिपलडाँडादेखि गैंडाकोटसम्मको कालीगण्डकी करिडोरलाई सरकारले प्राथमिकता दिएर काम गरेको उहाँले बताउनुभयो ।
एमाले पाल्पाका पूर्व कार्यवाहक अध्यक्ष देवीप्रसाद बश्यालले फराकिलो राजनीतिले नेकपा एमाले बलियो बनेको बताउनुभयो । व्यक्तिवाद भन्दा पनि नीति र पद्धतिबाट पार्टी चल्नुपर्ने उहाँले बताउनुभयो ।
प्रदेश सांसद इन्द्राकुमारी गहतराजले जनताका हितम काम गरेर पार्टीमा प्रवेश कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यका जनसम्पर्क प्रमुख सल्लाहकार डाक्टर रामबहादुर राउतले प्रदेश सरकारबाट पाल्पा जिल्लामा परेका योजना र बजेटबारे जानकारी दिनुभएको थियो ।
अध्यक्ष ओमबहादुर घर्तीमगरको अध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष विमल काफ्लेले स्वागत गर्नुभएको थियो । आर्थिक समितिका संयोजकसमेत रहेका काफ्लेले आर्थिक गतिविधिबारे जानकारी गराउनुभएको थियो ।
एमाले पाल्पाका सचिव रामजी पोखरेलले सञ्चालन गर्नुभएको कार्यक्रममा उपसचिव दीपक विश्वकर्माले पार्टीको संघ र प्रदेश कमिटीको अन्तर पार्टी निर्देशनबारे जानकारी गराउनुभएको थियो ।
एमालेका सरकारले रामपुर–आर्यभन्ज्याङ र हार्थोक–छहरा सडकको स्तरोन्नति गर्ने कामको थालनी भएको नेताहरूले बताएका थिए ।
बैठकमा एमालेका केन्द्र, प्रदेशतहका नेताको उपस्थित रहेको थियो ।


