तीन दिने लघु व्यवसाय खेल तालिम रामपुरमा सम्पन्न

बोली खबर   २०८२-०५-०८


पाल्पा । साना व्यवसायीहरुलाई व्यवसायिक सीप र वित्तीय व्यवस्थापनका ज्ञान प्रदान गर्ने उद्देश्यले रामपुरमा आयोजित तीन दिने लघु व्यवसाय खेल तालिम आइतबार सम्पन्न भएको छ ।
अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रामपुरले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को प्राविधिक सहयोगमा गत शुक्रबारदेखि तालिम सञ्चालन गरेको थियो ।
समापन कार्यक्रमका प्रमुख अतिथि तथा अन्धकारमुक्ति साकोसका अध्यक्ष सागर प्रसाद देवकोटाले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै व्यवसायिक सफलताका लागि कुशल व्यवस्थापन अपरिहार्य हुने बताउनुभयो । उहाँले प्राप्त सीपलाई व्यवहारमा उतार्दै आर्थिक समृद्धितर्फ अघि बढ्न आग्रह गर्नुभयो ।
सोही अवसरमा संस्थाका उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेले तालिममा सिकेका ज्ञानलाई व्यवहारमा लागू गर्न सुझाव दिनुभयो । सहभागी जायश्वर पाण्डे, भगवती आचार्य र दिनेश भट्टराईले तालिमबाट प्राप्त सिकाइलाई व्यवसायमा सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तीन दिनसम्म सञ्चालन भएको तालिममा नेफ्स्कुनका वरिष्ठ अधिकृत भरत न्यौपाने र प्रशिक्षण अधिकृत उमेश कोइरालाले खेलमार्फत व्यवसायिक सीप र व्यवस्थापनका विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेलका अनुसार तालिममा सहकारीमा आवद्ध ३० जना सदस्यहरुको सहभागिता थियो । समापन कार्यक्रम अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सहकारीका ऋण अधिकृत रामचन्द्र ढुङ्गानाले गर्नुभएको थियो ।