रामपुरमा ३७औं खुल्ला तीजगीत प्रतियोगिता सम्पन्न

बाेलीखबर   २०८२-०५-१२

पाल्पा । रामपुर नगरपालिका-५ बेझाँडमा ३७ औं खुल्ला तीजगीत प्रतियोगिता सम्पन्न भएको छ । प्रत्येक वर्ष हरितालिका तीजको भोलिपल्ट अखिल नेपाल महिला संघ रामपुर नगर कमिटीले आयोजना गर्दै आएको प्रतियोगिता यस वर्ष विहीबार सम्पन्न भएको हो ।

कार्यक्रम अखिल नेपाल महिला संघ रामपुर नगर कमिटीकी अध्यक्ष राधिका भण्डारीको अध्यक्षतामा तथा लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

उद्घाटन समारोहमा बोल्दै मन्त्री चौधरीले समाज परिवर्तनका लागि महिलाहरु आफैं अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले तीज पर्वको संस्कृति जगेर्ना र महिला अधिकारको प्रवर्द्धनमा यस्ता प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्नुभयो । साथै रामपुर फाँट सिंचाई योजनालाई व्यवस्थित गर्दै अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष एवं संविधानसभा सदस्य राधाकृष्ण कंडेलले संविधानले महिलालाई अधिकार सम्पन्न बनाएको बताउँदै विगतको तुलनामा महिला सशक्तिकरणमा महत्वपूर्ण उपलब्धि हासिल भएको धारणा राख्नुभयो । त्यस्तै नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय सचिव हिरु रानाले तीजगीत महिलाहरुको समस्या, पीडा र आवाजलाई उजागर गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो ।

कार्यक्रममा अखिल नेपाल महिला संघ पाल्पाका अध्यक्ष मिना जिसी, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी अध्यक्ष कमलराज भट्टराई र प्रथम पुरस्कार प्रायोजक किर्तिनाथ श्रेष्ठलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

१५ समूहको सहभागिता रहेको प्रतियोगितामा रामपुर-८ भुजातको नव ज्योति आमा समूहले प्रथम स्थान हासिल गर्दै नगद १५ हजारसहित प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै द्वितीय स्थान रामपुर-३ रजघराको रन्जु भट्टराई समूह र तृतीय स्थान रामपुर-१० की मिना भण्डारी समूहले प्राप्त गरेका छन् । उनीहरुले क्रमशः नगद १२ हजार र ९ हजारसहित प्रमाणपत्र प्राप्त गरेका थिए ।

प्रतियोगितामा सहभागी समूहहरुले महिला अधिकार, विकास र समसामयिक राजनीतिक विषयवस्तु अखिल नेपाल महिला संघका गतिविधिलाई गीतमार्फत प्रस्तुत गरेका थिए । कार्यक्रममा समाजमा योगदान दिएका महिलाहरुलाई सम्मान गरिएको थियो ।

सांगीतिक प्रस्तुतीतर्फ राष्ट्रिय कलाकार कोपिला न्यौपाने र राजेश भण्डारीसहित स्थानीय कलाकारहरुले आकर्षक प्रस्तुती दिएका थिए । कार्यक्रमको स्वागत नगर कोषाध्यक्ष नारायणी सुवेदीले गर्नुभएको थियो भने सञ्चालन सचिव सञ्जु परियारले गर्नुभएको थियो।