फेसबुक लगायत सामाजिक सञ्जाल अब नेपालमा नचल्ने, बन्द गर्ने सरकारको निर्णय

बाेलीखबर   २०८२-०५-२०

पाल्पा । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरण हुन अस्वीकार गरेका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्ले सामाजिक सञ्जाललाई नेपालमा सूचीकरणका लागि एक साताको समय दिने निर्णय गरे अनुसार मन्त्रालयले भदौ १२ गते सूचना निकालेको थियो।

तर, फेसबुक, एक्स (ट्विटर) लगायत सामाजिक सञ्जालले नेपालमा सूचीकरण हुन अस्वीकार गरेका छन्। सूचीकरण वा सम्पर्कमा आउनका लागि बुधबारसम्मको समय दिइएको थियो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को निर्णयलाई अटेर गरेको भन्दै बिहीबार मन्त्रालयमा बैठक राखेर सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेका हुन्।

‘सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले अदालतको अवहेलनासम्बन्धी मुद्दामा स्वदेशी वा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सञ्चालन पूर्व अनिवार्यरूपमा सम्बन्धित साधिकार निकायबाट सूचीकरण गरी अनिच्छित सामग्रीहरुको मूल्यांकन र अनुगमन गर्न सरकारको नाममा निर्देशनात्मक आदेश दिएकाले सूचीकरण नभएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरिएको हो,’ मन्त्रालयले भनेको छ।

अब फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, एक्सजस्ता सञ्जाल बन्द हुनेछन्। नेपालमा फेसबुक प्रयोगकर्ता मात्र डेढ करोडभन्दा धेरै छन्। फेसबुकको माउ कम्पनी मेटा अमेरिकी कम्पनी हो।

टिकटक र भाइबर भने यसअघि नै सूचीकरण भइसकेका छन्। यसअघिको सरकारले २०८० कात्तिकमा टिकटक बन्द गरेकामा अहिलेको सरकारले एक वर्षअघि प्रतिबन्ध हटाएको थियो।

सरकारले २०८० कात्तिकमा निर्देशिका जारी गर्दै नेपालमा चल्ने सामाजिक सञ्जाल सञ्चार मन्त्रालयमा सूचीकरण हुनुपर्ने व्यवस्था गरेको थियो। त्यसपछि पटक-पटक सूचना जारी गरेर सूचीकरणका लागि आह्वान गरे पनि सञ्जालका माउ कम्पनीले अस्वीकार गरेका थिए।