पाल्पा । रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको तेस्रो अधिबेशनको निर्वाचन शुरु भएको छ ।
बाम गठबन्धन दल र नेपाली काङ्ग्रेस गरि २ प्यानल निर्वाचनमा होमिएको छ । खानेपानी सस्थाको चौथो कार्यकालका लागि तेस्रो अधिबेशन निर्वाचन प्रक्रियाबाट अगाडि बढेको हो । समितिको ४ बर्षे कार्यकाल सकिएर थपिएको १ बर्षको समयसिमा पनि सकिएको ४ महिनापछि अन्ततः निर्वाचन भएको हो । पहिलो मत जेष्ठ नागरिक मन्च पाल्पाका अध्यक्ष देवराज ढकालले हाल्नुभएको छ । त्यस लगत्तै प्रदेशसभा सदस्य राजु प्रसाद श्रेष्ठ, अध्यक्षहरु उमेदवार कमलराज भट्टराई र हजुलदिन मियाले हाल्नुभएको छ ।
खानेपानीको कुल १८ पदको लागि ३६ जनाको उम्मेद्बारी परेको छ । अध्यक्षमा नेपाली काङ्ग्रेसबाट निवर्तमान उपाध्यक्ष हजुल मिया र पुर्व अध्यक्ष कमलराज भट्टराई चुनावी मैदानमा हुनुहुन्छ । अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र ५ सदस्य सहित ९ कार्यसमिति, १-१ जना ब्लक संयोजक र १ लेखा संयोजक सहित २ लेखा सदस्यमा निर्वाचन भएको छ । खानेपानीमा ६ वटा ब्लकबाट ६ जना चुनिनेछन् ।
निर्वाचन तोकिएको समय बिहान ८ बजेबाट रामतुलसी माबिमा शुरु भएको छ । निर्वाचनमा रामतुलसी माबिका शिक्षकहरु कर्मचारीका रुपमा खटिएको निर्वाचन समितिका संयोजक सुर्यदर्शन पण्डितले जानकारी दिनुभयो । निर्वाचनमा ४२ कर्मचारी सहित सुरक्षाकर्मी परिचालित छन् । निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीको नेतृत्वमा जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालयका प्रहरी गरि ३५ सुरक्षाकर्मी खटिएको छ ।
खानेपानी सस्थामा २ प्यानलगत प्रतिस्पर्धा छ । जसको उपाध्यक्ष पदमा विष्णुमाया ढकाल र प्रेम प्रकाश श्रेष्ठ, सचिवमा नीलकण्ठ पोखरेल र किर्तिनाथ श्रेष्ठ, कोषाध्यक्षमा भोजराज भट्टराई र खेमराज घिमिरे बिच प्रतिस्पर्धा छ । त्यस्तै गरी खुला सदस्य पदमा विष्णुप्रसाद आचार्य, टेकबहादुर विश्वकर्मा, सरस्वती डोटेल, राजकुमार श्रेष्ठ, मुना थापा काङ्ग्रेसको तर्फबाट र दुर्गाबहादुर केसी, सुमित्रा ज्ञवाली, सुर्जे गैरे, विष्णुमाया सारु र मञ्जु देवी पोखरेल बामघटकबाट उम्मेद्बार हुनुहुन्छ ।
६ वटा ब्लक रहेको खानेपानीमा ब्लक नम्बर १ को उम्मेदवारमा कृष्णप्रसाद अर्याल र लेखनाथ रेग्मी ,ब्लक नम्बर २ मा भोजराज भण्डारी र टोप नारायण ढकाल, ३ मा वसन्त बहादुर मल्ल र मेदासी श्रेष्ठ, ब्लक नम्बर मा ४ कृष्णप्रसाद वाग्ले र रामप्रसाद भण्डारी, धनबहादुर राना र बुद्धि प्रकाश श्रेष्ठ ब्लक नम्बर ५ को संयोजकमा र मोहनबहादुर थापा र ओम नारायण श्रेष्ठ ब्लक नम्बर ६ बाट संयोजक पदका लागि २/२ जनाको उम्मेदवारी परेको छ ।
त्यस्तैगरी, लेखा समितिमा पनि प्यानलगत रुपमा निर्वाचनमा गएको छ । लेखा संयोजकमा काङ्ग्रेसबाट दुर्गाप्रसाद पोखरेल र संयुक्त प्यानलबाट कृष्णप्रसाद श्रेष्ठ उमेदवार हुनुहुन्छ । २ लेखा समिति सदस्य पदमा ४ जना उमेदवार हुनुहुन्छ । जसमा मञ्जु भट्ट क्षेत्री, कमल आचार्य र विपिन अधिकारी, पवित्रा कुमाल हुनुहुन्छ । मतदान प्रक्रिया साझ ५ बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ ।










