।पाल्पा, रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा कमलराज भट्टराई निर्वाचित हुनु भएको छ । संस्थाको तेस्रो अधिवेशन मार्फत नयाँ कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा १३०६ मत प्राप्त गर्दै संयुक्त प्यानल बाट उहाँ निर्वाचित हुनु भएको हो ।
आईतबार साँझ सम्पन्न भएको मतगणना अनुसार प्रतिस्पर्धि नेपाली कांग्रेसका उम्मेद्वार हजुल मियाँलाई १९४ मतले पछि पार्दै उहाँ निर्वाचित हुनु भएको हो । मियाँले १११२ मत प्राप्त गर्नु भएको छ । निर्वाचनमा नेपाली कांग्रेसको प्यानल र नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा लगाएतका दलहरुको संयुक्त प्यानल विच प्रतिस्पर्धा भएको थियो ।
अध्यक्ष बाहेक अन्य कार्यसमितिका पदाधिकारी र लेखा समितिमा भने नेपाली कांग्रेस तर्फका उम्मेद्वारहरु सबै निर्वाचित भएको छ । उपाध्यक्षमा नेपाली कांग्रेस बाट विष्णु माया ढकाल १२२५ मत सहित निर्वाचित हुनु भएको छ । उहाँका प्रतिस्पर्धि प्रेम प्रकाश श्रेष्ठले ११०१ मत प्राप्त गर्नु भएको छ । सचिवमा निलकण्ठ पोखरेल १२३७ मत सहित विजयी हुनु भएको छ । प्रतिस्पर्धि कृतिनाथ श्रेष्ठले १०३६ मत प्राप्त गर्नु भएको छ ।
कोषाध्यक्षमा भोजराज भट्टराई १४५० मत सहित अत्याधिक मतले विजयी हुनु भएको छ । उहाँको प्रतिस्पर्धि खेमराज घिमिरेले ८२८ मत प्राप्त गर्नु भएको छ । सदस्यहरुमा विष्णु प्रसाद आचार्य १०६८, मुना थापा एक हजार ६४, राज कुमार श्रेष्ठ १०५०, सरस्वती डोटेल १०३७ र टेक बहादुर विश्वकर्मा ९७५ मत सहित विजयी हुनुभएको छ । सदस्यका प्रतिस्पर्धिहरु दुर्गा बहादुर केसीले ९७३, विष्णु माया सारुले ७९६, मञ्जु देवी पोखरेलले ८१०, सुमित्रा ज्ञावलीले ७३३ र सुर्जे गैरे ८२९ मत प्राप्त गर्नु भएको छ ।
लेखासमिति संयोजकमा दुर्गा प्रसाद पोखरेल एक हजार दुई सय ५१, सदस्यहरुमा कमल आचार्य एक हजार १०९ र मञ्जु भट्ट क्षेत्री ९७५ मत सहित विजयी हुनु भएको छ । त्यस्तै संयोजकका प्रतिस्पर्धी कृष्ण प्रसाद श्रेष्ठले ९११, सदस्यहरु पवित्रा कुमालले ७९९ र विपिन अधिकारीले एक हजार ६१ मत प्राप्त गर्नु भएको छ । ब्लक संयोजक तर्फ ब्लक नं. १, ३, ४ र ६ मा नेपाली कांग्रेसका उम्मेद्वार र ब्लक नं. २ र ५ मा संयुक्त प्यानलका उम्मेदवार निर्वाचित भएको छ । ब्लक नं. १ बाट कृष्ण प्रसाद अर्याल २३५, ब्लक नं. २ बाट टोप नारायण ढकाल १४४, ब्लक नं. ३ बाट बसन्त बहादुर मल्ल मेदासी ३०१, ब्लक नं. ४ मा कृष्ण प्रसाद वाग्ले २६८, ब्लक नं. ५ मा बुद्धि प्रसाद श्रेष्ठ २११, ब्लक नं. ६ मा मोहन बहादुर थापा १८३ मत सहित निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ ।
उहाँहरुको प्रतिस्पर्धी क्रमश: लेखनाथ रेग्मीले ११२, भोजराज भण्डारीले ८४, सुर्य प्रसाद श्रेष्ठले १६७, राम प्रसाद भण्डारीले २३३, धन बहादुर रानाले १९४ र ओम नारायण श्रेष्ठले १७० मत प्राप्त गर्नु भएको थियो । निर्वाचनमा कुल मतदाता ३ हजार ६८४ मध्ये दुई हजार ५८८ जना उपभोक्ताले मतदान गरेका थिए । शनिबार राती ११ बजे देखि सुरु भएको मतगणना आईतबार साँझ अबेर सकिएको थियो


