रामपुर खानेपानी संस्थाका नव निर्वाचित पदाधिकारीद्वारा सपथ ग्रहण

बोली खबर   २०८२-०५-२९

पाल्पा । रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका नव निर्वाचित पदाधिकारीहरूले आइतबार एक कार्यक्रमका बीच सपथ ग्रहण गर्दै पदभार ग्रहण गर्नु भएको छ।

गत भदौ २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारीहरूले निर्वाचन सम्पन्न भई भदौ २२ गते साँझ मतगणना सम्पन्न भए पनि मुलुकमा उत्पन्न विशेष परिस्थितिका कारण तत्काल पदभार ग्रहण हुन सकेको थिएन। तेस्रो अधिवेशन अन्तर्गत गठन भएको निर्वाचन समितिले आइतबार सपथ तथा पदभार ग्रहण कार्यक्रम आयोजना गरेको हो।

निर्वाचन समितिका संयोजक सुर्य दर्शन पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति एवं संस्थाका निवर्तमान अध्यक्ष राजु प्रसाद श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा अध्यक्ष कमलराज भट्टराई, उपाध्यक्ष विष्णुमाया ढकाल, सचिव निलकण्ठ पोखरेल, कोषाध्यक्ष भोजराज भट्टराईसहित कार्यसमिति, ब्लक संयोजक तथा लेखा समितिका पदाधिकारीहरूले प्रमाणपत्रसहित सपथ ग्रहण गर्नु भएको हो।

निवर्तमान अध्यक्ष राजु प्रसाद श्रेष्ठले नव निर्वाचित अध्यक्ष भट्टराईलाई माइन्युट हस्तान्तरण गर्दै पदभार बुझाउनुभएको थियो। कार्यक्रममा उहाँले खानेपानी वितरण र व्यवस्थापनमा नयाँ नेतृत्वलाई शुभकामना दिँदै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्न आग्रह गर्नुभयो। साथै उहाँले हालैको जेन जि आन्दोलनले मुलुकलाई नयाँ सन्देश दिएको भन्दै राजनीतिक दलहरूले युवा पुस्तालाई अघि ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले शुभकामना व्यक्त गर्दै नागरिकलाई शुद्ध पिउने पानी उपलब्ध गराउने अधिकार सुनिश्चित गर्न नव निर्वाचित नेतृत्वलाई आग्रह गर्नुभयो। उहाँले खानेपानी व्यवस्थापनका लागि नगरपालिकाबाट आवश्यक सहयोग र समन्वय हुने प्रतिवद्धता व्यक्त गर्नुभयो।

नव निर्वाचित अध्यक्ष कमलराज भट्टराईले विद्युत महसुल वृद्धिले समस्या भएको उल्लेख गर्दै तत्काल बैठक राखी समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो। साथै खानेपानी आपूर्ति र नयाँ योजनाहरू कार्यान्वयनका लागि सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

कार्यक्रम सञ्चालन निर्वाचन समितिका सदस्य बालकृष्ण लम्सालले गर्नुभएको थियो भने संयोजक पण्डितले निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो।